हेटौँडाः बागमती प्रदेशको चितवन जिल्लाका विभिन्न ठाउँमा अचेत अवस्थामा फेला परेका ३ जनाको उपचारको क्रममा मृत्यु भएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिका–१, रामनगरको दुई नम्बर टोलमा अचेत अवस्थामा फेला परेका ४२ वर्षीय कृष्ण नेपालीको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
शनिबार बिहान ३ बजेर ४५ मिनेटको समयमा नेपाली आफ्नै कोठामा सुतेकोमा अचेत अवस्थामा फेला परेका थिए । नेपालीलाई उपचारका लागि जिल्ला सरकरी अस्पतालमा लगिएकोमा उपचारको क्रममा बिहान ४ बजेर ७ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । यस्तै चितवनको रत्ननगर नगरपालिका–१६, हात्तिगारेमा अचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीय बेध बहादुर खड्का रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार राती १० बजेको समयमा खड्का आफ्नै घर देखि १०० मिटर पर गात्तिगारे बाटोमा लडिरहेको अवस्थामा फेला परेका थिए । खड्कालाई उपचारका लागि स्थानीय बकुलहर हस्पिटल लैजाने क्रममा शुक्रबार बिहान ५ बजेर ३० मिनेटको समयमा बाटोमा नै मृत्यु भएको भनी हस्पिटलले घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । अनुसन्धानको क्रममा खड््काले अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका–१५, चौतारीटोलमा बाथरुममा लडेर घाइते भएका वृद्धको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ८५ वर्षीय चामनारायण दराई रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार बिहान ९ बजेर ४५ मिनेटको समयमा दराई बाथरुममा नुहाउने क्रममा लडी घाईते भएका थिए । घाइते दराइलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा बिहान १० बजेर २४ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।