विश्वविद्यालय अनुदान आयोगका पदाधिकारीसँग छलफलमा सहभागी हुनुहुँदै मुख्यमन्त्री बहादुर सिंह लामा ।

हेटौँडाः बागमती प्रदेश विश्वविद्यालय स्थापना, संचालन तथा व्यवस्थापनका विषयमा विश्वविद्यालय अनुदान आयोगसँग छलफल गरिएको छ । प्रदेश विश्वविद्यालय तथा उच्च शिक्षा व्यवस्थापनको विषयमा मुख्यमन्त्री बहादुर सिंह लामाको समुहले आयोग पदाधिकारी र विज्ञहरुसँग छलफल गरेको हो ।

काठमाडौंमा भएको छलफलमा विश्वविद्यालयको पाठ्यक्रम तथा दीर्घकालीन संचालनका विषयमा केन्द्रीत रहेको थियो । विश्वविद्यालयको व्यवस्थित, मर्यादित, आधुनिक, वैज्ञानिक र प्रविधिमैत्री शिक्षालाई पाठ्यक्रमसँग जोड्दै युवा पुस्ताको माग र आवश्यकताको शिक्षा प्रणाली निर्माणका विषयमा छलफल भएको थियो । विश्वविद्यालयको स्थायित्व, शिक्षा प्रणाली, विद्यार्थीको आवश्यकता र उत्पादन तथा व्यवस्थापनमा उक्त छलफल केन्द्रीत रहेको थियो । व्यवहारिक शिक्षा प्रणाली विकास तथा व्यवसायिकतामा आधारित सीपमूलक शिक्षा प्रदानमा विश्वविद्यालयले योजना निर्माणका विषय छलफल भएको थियो ।

छलफलका क्रममा बागमती विश्वविद्यालय संरक्षक समितिका अध्यक्ष चन्द्रमणि पौडेलले आयोगको मापदण्ड अन्तर्गत रहने प्रक्रिया, नयाँ कलेजहरुको सम्बन्धनका बारेमा जिज्ञासा राख्नुभएको थियो । उहाँले नयाँ विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालयका कलेजहरु समाहित गर्ने तथा सो कलेजको ट्रान्समिसनको प्रक्रिया मिलान विषयमा धारणा राखेका थिए ।

छलफलमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले प्रदेश विश्वविद्यालय गठनका समयमा समन्वय नगरेको बताउनुभयो । जसका कारण आयोगले विश्वविद्यालयलाई आवश्यक विषय सुरुवाती चरणमा योजना तयार गर्न नसकेको उहाँले बताउनुभयो । सबै विश्वविद्यालयको गुणस्तर हेर्ने काम आयोगको भएकाले बागमती विश्वविद्यालयलाई आयोगको ऐनले समेट्न नसक्ने उहाँको भनाई थियो । आयोगको ऐन संशोधन भएको खण्डमा मात्र अनुदान तथा अन्य विषयमा बागमती विश्वविद्यालयलाई समेट्न सकिने उहाँले स्पष्ट पार्नुभएको छ ।

छलफलमा प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी, प्रदेश सरकारका प्रमुख सचिव हरि लम्साल, शिक्षाविद प्रा.डा. मनप्रसाद वाग्ले, प्रदेश विश्वविद्यालय संरक्षक समितिका उपाध्यक्ष कुशुमराज सुवेदी लगायतको उपस्थिति रहेको थियो ।