कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री खड्का ।

हेटौँडाः बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिंचाई मन्त्री श्याम खड्काले विकास आयोजना संचालनका सवालमा तीन तहका बीच समन्वय अभाव रहेको बताउनुभएको छ । विकास आयोजना कार्यान्वयनका चरणमा तीन तहका सरकार बीच एकले अर्कोलाई नटेर्ने अवस्था रहेको उहाँले बताउनुभएको छ ।

मन्त्रालयको आयोजनामा हेटौँडामा भएको २ दिने खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा बोल्नुहुँदै मन्त्री खड्काले स्थानीय तहले मागे अनुसारको आयोजनाहरु प्रदेश सरकारले दिन नसकेको र प्रदेश सरकारले पठाएको आयोजना कार्यान्वयनमा स्थानीय तहको चासो कम पर्ने समस्या रहेको बताउनुभयो । उक्त समस्याका बीचबाट संघीयता कार्यान्वयनको चरणहरु अघि बढिरहेको उहाँको भनाई छ ।

मन्त्री खड्काका अनुसार स्थानीय तहसँगको समन्वयमा विकास आयोजना संचालनका विषयमा सरकार गम्भिर छ । विकास आयोजना व्यवस्थापनका लागि प्रदेश सरकारले आयोजना बैंक निर्माणको काम गरिरहेको छ । आयोजना बैंक निर्माण पश्चात स्थानीय तह र प्रदेश सरकार बीचको समन्वयात्मक भूमिका तथा आयोजनाको प्रभावकारितामा वृद्धि हुने उहाँले बताउनुभयो । नागरिकको आवश्यकताको आधारमा विकास आयोजनाहरु निर्माणमा सरकारले काम गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । वृहत र प्रभावकारी आयोजना निर्माण गरेर उत्पादनमा केन्द्रीत विकासमा सरकारले जोड दिने उहाँले बताउनुभएको छ ।