हेटौँडाः नेपाल मुस्लिम इत्तेहाद संगठनको आयोजनामा जारी प्रथम संस्करणको टी–१० क्रिकेट प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । शुक्रबार हेटौँडा–४, हुप्रचौरमा क्वार्टरफाइनल चरणका ४ खेलहरु सम्पन्न भएसँगै प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको हो । प्रतियोगिता अन्तर्गत शनिबार सेमीफाइनल र फाइनल चरण खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ ।
शुक्रबार भएको खेलहरुमा विजयी हुँदै नेपाल स्टार क्लब, पठान स्ट्राइकर क्रिकेट कलब, चितवन जिल्लाको आरसीसी क्लब र टिम एभरेष्ट क्रिकेट क्लब सेमीफाइनलमा प्रेवश गरेको हो । नेपाल स्टार क्लबले पठान इलेभेन क्लबलाई ८ विकेटले, दोस्रो खेलमा पठान स्ट्राइकरले जीएस निकेतनलाई ३२ रनले, तेस्रो खेलमा आरसीसी क्लबले मदिनालाई १० विकेटले र चौथो खेलमा टिम एभरेष्टले न्यू मर्निङलाई २ विकेटले हराएको छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट बलर, म्यान अफ द म्याच र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई पनि ट्रफि प्रदान गरिने छ । प्रतियोगितामा मकवानपुर जिल्ला क्रिकेट संघको सहयोग रहेको छ ।