हेटौंडाः चालु आर्थिक वर्षमा बागमती प्रदेश सभाको पहिलो बैठक शुक्रबार बसेको छ । बैठकमा विभिन्न ४ वटा विधेयक छलफलको लागि प्रदेशका चार जना मन्त्रीहरुले प्रस्ताव पेश गर्नुभएको थियो ।
प्रदेश सभाको बैठकमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशमा निर्माण भएका मध्ये प्रचलित ३४ ऐनहरुलाई समसामयिक संशोधन गर्नुपर्ने भएकोले तर्जुमा भएको विधेयक संशोधन गर्ने प्रस्ताव पेश गर्नुभएको थियो । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश गर्नुभयो । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक सभा पेश गर्नुभएको थियो भने भौतिक विकास मन्त्री रामेश्वर फुया“लले प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधार सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गर्नुभएको थियो ।

बैठकमा विधेयकको सैद्धान्तिक पक्षको मात्रै छलफल गरिएको छ । सैद्धान्तिक पक्षमा छलफलमा सत्तापक्ष र प्रतिपक्षका दुवै सांसदहरुले बोलेका छन् । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले विधेयकको सैद्धान्तिक पक्षमा सदस्यहरुले उठाएको प्रश्नहरुको जवाफ दिनुहुँदै बागमती प्रदेश सरकारले केही नेपाल ऐन संशोधन गर्न एकीकृत रुपमा ३४ वटा ऐनको विभिन्न दफाहरुलाई संशोधन गर्न आवश्यक भएकोले विधेयक प्रस्तुत गरिएको जानकारी दिनुभयो । भौतिक विकास मन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले बागमती प्रदेशका १३ वटै जिल्लालाई हरित नगरी एवम् पूर्वाधार विकासको लागि सडक सञ्जालको निर्माणको क्रममा जेष्ठ नागरिक, अपाङ्ता, बालमैत्री बनाउने तर्फ लक्षित रहेको बताउनुभयो । यसैगरी बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले आर्थिक वर्ष २०७७/०७८ को लागि ल्याएको नीति, कार्यक्रम र बजेटलाई एक वर्षभित्रै प्रदेशको १३ वटै जिल्लामा कार्यान्वयन गर्ने पक्षमा रहेको बताउनुभयो ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले सांसदहरुको प्रश्नको जवाफ दिनुहुँदै बागमती प्रदेश सरकारले प्रदेशको जिल्लाहरुमा वातावरण संरक्षणको लागि समयानुकुल ऐन तर्जुमा गरी बाल, अनाथ, जेष्ठ नागरिक र अपाङ्गहरुलाई वातावरण मैत्री बनाएर लाने सरकारको नीति रहेको जानकारी गराउनुभयो । आज शनिबार बिहान ११ बजे प्रदेश सभाको बैठक बसेको थियो ।