हेटौँडाः बागमती प्रदेश लोकसेवा आयोगको सदस्यमा रामबहादुर खड्का नियुक्त हुनुभएको छ । बिहीबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आयोगको सदस्य पदमा खड्कालाई नियुक्त गर्नुभएको हो ।
प्रदेश प्रमुख देवकोटाले प्रदेश लोकसेवा आयोग ऐन २०७५ को दफा ४ को उपदफा २ बमोजिम खड्कालाई सदस्य पदमा नियुक्त गर्नुभएको हो । ऐनको दफा ३ को उपदफा १ बमोजिम गठित सिफारिस समितिको सिफारिसमा खड्कालाई सदस्य पदमा नियुक्त गरिएको हो । तत्कालिन सदस्य सुदर्शन ढकालले ११ कात्तिकदेखि लागु हुने गरी २ कात्तिकमा राजिनामा दिनुभएपछि सदस्य पद रिक्त रहेको थियो । उहाँ नेकपा एमालेको कोटामा आयोगको सदस्यमा नियुक्त हुनुभएको हो ।
दोलखा जिल्लाको गौरिशंकर गाउँपालिका–५ का खड्कालाई प्रदेश लोकसेवा आयोगको सदस्यमा नियुक्तिका लागि २ मंसिर २०८१ को मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय अनुसार खड्कालाई सदस्य पदमा नियुक्तिका लागि ५ मंसिरमा प्रदेश प्रमुख देवकोटा समक्ष प्रस्ताव प्राप्त भएको थियो । खड्काको सपथग्रहण अर्को साता हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।