अन्तरविद्यालय लोकनृत्य प्रतियोगितामा उत्कृष्ट तीन समूहसहित प्याव्सन मकवानपुरका पदाधिकारीहरु ।

हेटौंडाः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) मकवानपुरको आयोजनामा जिल्लास्तरीय अन्तरविद्ययालय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार हेटौँडा–१० स्थित सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीको सभाहलमा भएको प्रतियोगितामा हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेन्डरी स्कूल, हेटौंडा–१८ स्थित मकवानपुर बालविद्या सदन र हेटौँडा–५ स्थित रिलायन्स इंग्लिस सेकेन्डरी स्कूलको समूह उत्कृष्ट ३ मा पर्न सफल भएको छ ।

जिल्लास्तरीय प्रतियोगितामा सहभागी १६ वटा विद्यालयको समूह मध्ये उत्कृष्ट ३ समूह भने प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुनेछन् । उत्कृष्ट तीन विद्यालयका विद्यार्थी समूहलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । प्रदेशस्तरीय प्रतियोगिता यही मंसीर १७ गते भक्तपुरमा हुनेछ । प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीको सभाध्यक्षमा तथा प्याव्सनका केन्द्रीय सहकोषाध्यक्ष ग्रेस श्रेष्ठको प्रमुख आतिथ्यमा जिल्लास्तरीय छनोट प्रतियोगिता भएको हो । नेपाली लोक कला र संस्कृतिको जगेर्ना गर्न बालबालिकाको कला प्रष्फुटन गर्न प्याव्सनले ३ वर्षदेखि प्रतियोगिताको आयोजन गर्दै आएको अध्यक्ष विनोद सुवेदीले जानकारी दिनुभएको छ ।