हेटौंडाः हेटौँडा–१७, हटियामा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । लक्ष्मी आधारभूत विद्यालयको खेलमैदानमा सोमबारबाट सुरु भएको अन्तर टोल विकास संस्थास्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा लक्ष्मीपुर टोल विकास संस्थाले सुखद् सुरुवात गरेको छ ।
लक्ष्मीपुर टोल विकास संस्थाले कैलाशेश्वर विकास संस्थालाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ । लक्ष्मीपुरको जीतमा धर्मराज राई, अर्जुन राई, कविन राई, निर्मल राई र सुविन राईले समान एक–एक गोल गरेका थिए । म्यान अफ द म्याच लक्ष्मीपूर टोलका निर्मल राई घोषित भएका छन् । सोमबार नै भएको दोस्रो खेलमा अशोक वाटिका टोल विकास संस्थाले जीत निकालेको छ । अशोक वाटिका टोल विकास संस्थाले हटियाचोक टोल विकास संस्थालाई २–० गोलअन्तरले पराजित गरेको छ । अशोक वाटिकाको जीतमा विवेक राई र विपिन राईले समान एक÷एक गोल गरेका छन् । म्यान अफ द म्याच विपिन राई घोषित भएका छन् ।
प्रतियोगितामा १५ वटा टोल विकास संस्थाको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल मंसीर १५ गते हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले ५१ हजार ५१ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ३१ हजार ३१ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । १७ नम्बर वडा खेलकुद विकास समितिले आयोजनामा गरेको प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन गरिएको छ । वडा खेलकुद विकास समितिका अध्यक्ष रमेश कुमार राईको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन समारोह भएको हो । उद्घाटन समारोहमा विभिन्न खेल क्षेत्रमा आवद्ध भएका प्रतिनिधि तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।