हेटौंडाः चितवन जिल्लाको रत्ननगर नगरपालिकामा जारी तेस्रो संस्करणको अन्तरपालिका रत्ननगर मेयर कप फुटबल प्रतियोगितामा हेटौँडा उपमहानगरपालिकाको टिमले रोमाञ्चक जीत निकाल्दै सेमीफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको क्वार्टरफाइनल चरणको खेलमा चितवनको भरतपुर महानगरपालिकाको टिमलाई हेटौँडा उपमहानगरपालिकाको टिमले सडन डेथमा पराजित गरेको छ ।
निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पनि ५–५ गोलको बराबरीमा रोकिएपछि खेल सडन डेथमा पुगेको हो । हेटौँडाका विश्व लामाले दोस्रो हाफको १५ औं मिनेटमा १ गोल गर्दा भरतपुरको टिमले पनि १ गोल गर्दै खेललाई बराबरीमा ल्याएको हो । म्यान अफ द म्याच हेटौँडाका टिम क्याप्टेन रोशन दोङ घोषित भएको नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र प्रसाद घिमिरेले जानकारी दिनुभएको छ । फाइनल प्रवेशका लागि हेटौँडाको टिमले मकवानपुरको मनहरी गाउँपालिकाको टिमसँग भोलि बिहीबार प्रतिस्पर्धा गर्ने अध्यक्ष घिमिरेले बताउनुभयो ।
मकवानपुर जिल्लाका एन्फा प्रशिक्षक विजयलाल श्रेष्ठको नेतृत्वमा २० जना खेलाडी छनोट गरेर प्रतियोगितामा सहभागी भएको उहाँले बताउनुभयो । प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख ११ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले १ लाख ५१ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल मंसीर १५ गते हुनेछ ।