हेटौंडाः तेस्रो संस्करणको अन्तरपालिका रत्ननगर मेयर कप फुटबल प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाको टिमले शानदार जीत निकालेको छ । चितवन जिल्लाको रत्ननगर नगरपालिकामा भएको अन्तरपालिका मेयर कप फुटबल प्रतियोगितामा चितवनकै माडी नगरपालिकालाई ६–१ गोलको फराकिलो अन्तरले हराउँदै मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले शानदार जीत दर्ता गरेको हो ।
हेटौंडाको जीतमा अनिश महर्जन र विजय दोङले समान २/२ गोल गरेका थिए । स्यामुयल सुनार र सुजल लामाले १/१ गोल गर्दा हेटौंडाको नाममा ६ गोल रह्यो । म्यान अफ द म्याच हेटौँडाका विजय दोङ घोषित भए । प्रतियोगिता अन्तर्गत हेटौंडाले भोलि मंगलबार चितवन जिल्लाकै भरतपुर महानगरपालिकाको टिमसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता हुनुअघि आइतबार मेयर कप फुटबलमा सहभागी हुने खेलाडीहरुको विदाई गरिएको थियो । हेटौंडा नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्रप्रसाद घिमिरेको सभाध्यक्षमा तथा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमको प्रमुख आतिथ्यमा विदाई कार्यक्रम भएको थियो ।
मकवानपुर जिल्लाका एन्फा प्रशिक्षक विजयलाल श्रेष्ठको नेतृत्वमा २० जना खेलाडीहरुलाई छनोट गरेर प्रतियोगितामा सहभागी गराएको अध्यक्ष रविन्द्र प्रसाद घिमिरेले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी भएका हेटौंडाका खेलाडीहरुका लागि नगर खेलकुद विकास समितिले आर्थिक सहयोग गरेको उहाँले बताउनुभयो । खेलाडीहरुलाई हौसला प्रदान गर्न र उनीहरुको नेतृत्व गर्नका लागि टिम प्रशिक्षकको रुपमा विजयलाल श्रेष्ठ, नगर खेलकुद विकास समितिका सदस्य सचिव अकल बहादुर थिङ, टिम व्यवस्थापकको रुपमा सुनिल लोप्चन, विजय गौतम र सदस्य यज्ञ बहादुर राय (बिनोद) पनि चितवन जानुभएको थियो ।
प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख ११ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १ लाख ५१ हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल मंसीर १५ गते हुनेछ बताइएको छ ।