लागूऔषध, अटोसहित परियार र स्याङ्बोलाई सार्वजनिक गर्दै प्रहरी ।

हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिका–९, भलाद्मीचोकबाट प्रहरीले लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । आइतबार दिउँसो २ बजेर १५ मिनेटको समयमा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ह ५०३३ नम्बरको अटोलाई रोकेर सुरक्षाजाँच गर्ने क्रममा १० किलो २५० ग्राम लागूऔषध गाँजा बरामद गरेको जनाएको छ ।

प्रहरीले अटोचालक मनहरी–८ का २८ वर्षीय राम कुमार परियार र अटोमा सवार मनहरी–९ का ३६ वर्षीय रामकुमार स्याङ्बोलाई पक्राउ गरेको छ । प्रहरीले अटोको सिट पछाडि कालो झोला र जेब्रा झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा लागूऔषध गाँजा बरामद गरेको जनाएको छ । प्रहरीले बरामद गरेको लागूऔषध गाँजा, अटोसहित परियार र स्याङ्बोलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।