पक्राउ परेका भारतीय नागरिक र बरामद भएका विदेशी मुद्रा सार्वजनिक गर्दै प्रहरी ।

हेटौँडाः स्रोत नखुलेको विदेशी मुद्रासहित ३ जना भारतीय नागरिकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । आइतबार राती ८ बजेर ४५ मिनेटको समयमा हेटौँडा–१, चौकीटोलबाट आफूले लगाएको अन्डरवेयर र झोलामा लुकाएर ल्याएको अवस्थामा प्रहरीले विदेशी मुद्रा बरामद गरेको जनाएको छ । सोमबार बिहान प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर बरामद भएको रकम र पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार विशेष सुचनाको आधारमा काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०३–००१ ज ०७६५ नम्बरको यात्रुवाहक इभी माईक्रोबाट प्रहरीले तीनजालाई पक्राउ गरेको जनाएको छ । हेटौँडा–१, चौकीटोलस्थित प्रहरी चेकपोष्टमा इभी गाडीलाई रोकेर सुरक्षाजाँच गर्दा भारतको उत्तर प्रदेश जालौन बस्ने ४० वर्षीय विजय सिंह कुशवाह, उत्तर प्रदेशकै गोरखपुर बस्ने २६ वर्षीय प्रशान्त पाठक र भारतको राजस्थान चितोरगढ बस्ने ३२ वर्षीय राहुल कुमार माण्डावतलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार कुशवाहाको साथबाट १२ हजार अमेरिकी डलर, पाठकको साथबाट १४ हजार युरो र माण्डावतको साथबाट २० हजार अमेरिकी डलर बरामद भएको थियो । उनीहरुको साथबाट ३२ हजार अमेरिकी डलर र १४ हजार युरो बरामद भएको हो । बरामद भएको अमेरिकी डलरको नेपाली बजार मुल्य४३ लाख २० हजार ५१५ रुपैयाँ र युरोको १९ लाख ६९ हजार ५१५ रुपैयाँ गरी जम्मा कुल ६२ लाख ९० हजार ३५ रुपैयाँ हुने प्रहरीले बताएको छ ।

इभी गाडीमा सवार उनीहरुलाई शरीर तथा झोलाको तलासी गर्ने क्रममा विदेशी मुद्रा बरामद भएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । “उनीहरुलाई चेकपोइन्टमा रोकी झोला खानतलासी गर्दा अमेरिकी डलर केही थान फेला परेको थियो । सडकमा खनातलासी गर्न उचित नलागरे कार्यालयमा ल्याएर शरीर खानतलासी गर्दा लगाइरहेको अन्डरवेयर भित्र अमेरिकी डलर र युरो बरामद भयो” प्रहरी उपरीक्षक खड्काले भन्नुभयो । प्रहरी उपरीक्षक खड्काका अनुसार पक्राउ परेकाहरु काठमाडौंमा क्यसिनोमा खेलेर फर्किएको प्रारम्भिक बयान दिएका छन् । पक्राउ गरिएकाहरु माथि थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीको भनाई छ ।