उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री बहादुर सिंह लामा ।

हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपालमा उद्योग संचालनको उपयुक्त वातावरण नरहेको टिप्पणी गर्नुभएको छ । उद्यमीले लगानीका लागि योजना तयार गर्दा नै राज्य तथा समुदायस्तरबाटै समस्या हुने गरेको उहाँको भनाइ छ ।

१० औं उद्योग दिवसको अवसरमा हेटौँडामा आयोजित नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री लामाले लगानीकर्तालाई नागरिक र सरकारबाटै विभिन्न कारण देखाउँदै आक्रान्त बनाइरहेको मुख्यमन्त्री लामाले स्पष्ट पार्नुभयो । उद्योग संचालनका लागि नागरिकस्तरबाटै सहयोग गरी उपयुक्त वातावरण तयार गरिनु पर्ने उहाँले बताउनुभयो ।

बागमती प्रदेश सरकारले उद्योग क्षेत्रलाई प्रोत्साहनका लागि उपयुक्त नीति तयार गर्ने उहाँले आश्वासन दिनुभयो । असमान नीतिहरुलाई परिमार्जन गरेर प्रदेशमा उद्योगमैत्री वातावरण तयार पार्न प्रदेश सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुहुँदै उद्योग क्षेत्रको विकासका लागि तीन तहको सरकारको समन्वय अपरिहार्य रहेको पनि उहाँले औँल्याउनुभयो । “सरकारले उद्योग क्षेत्रलाई प्रोत्साहन गर्न प्राथमिकतामा राखेको छ । दायित्वका रुपमा सरकारले उद्योग क्षेत्रको विकासलाई अघि बढाएको छ । उद्योग क्षेत्र युवा पलायन रोक्न र रोजगारी सृजनाको प्रमुख आधार हो”, मुख्यमन्त्री लामाले भन्नुभयो ।

विदेशी प्रविधी र उत्पादनसँग प्रतिस्पर्धा गर्नु नेपाली उद्योगको प्रमुख चुनौतिको रुपमा रहेको मुख्यमन्त्री लामाले बताउनुभयो । बजार र कच्चा पदार्थको अवस्थाका आधारमा उद्योग स्थापना गर्नुपर्नेमा मुख्यमन्त्री लामाको जोड थियो । मुख्यमन्त्री लामाका अनुसार नेपाली कच्चा पदार्थको व्यवस्थापन नहुँदा विदेशबाट आयात गर्नुपर्ने वाध्यता रहेको छ । स्थानीयस्तरको कच्चा पदार्थको व्यवस्थापन र प्रयोगमा उद्योगहरुले जोड दिन जरुरी रहेको उहाँले बताउनुभयो ।