हेटौँडाः बागमती प्रदेश सरकारले उद्योग दिवसको अवसरमा १४ उद्यमीलाई सम्मान गरेको छ । घरेलु तथा साना उद्योग तर्फबाट प्रदेशका १३ जिल्लाका १÷१ वटा उत्कृष्ट र प्रदेशबाट एक सर्वोत्कृष्ट उद्यमीलाई नगदसहित सम्मान गरेको हो ।
१० औं उद्योग दिवसको अवसरमा हेटौँडामा आयोजित एक कार्यक्रमका बीच उद्यमीहरुलाई सम्मान गरिएको हो । प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयले प्रदेशका जिल्लाबाट नवप्रवर्तन उद्यमी सम्मान मापदण्ड, २०८१ मापदण्ड बमोजिम उच्च अंक प्राप्त गर्ने १३ जिल्लाका उत्कृष्ट एक/एक उद्यमी र प्रदेशबाट सबैभन्दा बढी अंक प्राप्त गर्ने एक सर्वोत्कृष्ट उद्यमी सम्मान गरेको हो ।
मन्त्रालयका अनुसार प्रदेशबाट सर्वोत्कृष्ट उद्यमी कार्भेको झ्याम्भल कृषि फर्म उद्योग प्रालि भएको छ । कृषि उत्पादन तथा बजारीकरणमा काम गरिरहेको उक्त उद्योगलाई नगद एक लाख रुपैयाँसहित सम्मान गरिएको छ । उद्योगले स्थानीयस्तरमा उत्पादित कच्चा पदार्थको प्रयोग गरेर अचार, विभिन्न प्रकारका क्याण्डीहरु उत्पादन गरेर बजारमा विक्रि गर्दै आएको छ । हाल उद्योगमा १५ जनालाई रोजगारी पाइरहेको बताइएको थियो ।
त्यस्तै कार्यक्रममा मकवानपुरको हेटौंडा–१३ स्थित कोम्हेन्दो एकीकृत कृषि फार्म, धादिङको निलकण्ठ–८ स्थित युनिक पशुपन्छी तथा कृषि फर्म, रसुवा जिल्लाको उत्तरगया–५ स्थित एस.एस. टेलर्स एण्ड स्यानिटरी प्याड तथा माक्स, सिन्धुली जिल्लाको दुधौली–४ स्थित बरपिपल दुना टपरी उद्योग, काठमाडौं जिल्लाको चन्द्रागिरी–११ स्थित ओम फुड प्रोडक्टलाई उत्कृष्ट उद्यमीको रुपमा सम्मान गरिएको छ ।
यसैगरी ललितपुर जिल्लाको बागमती–१ स्थित श्रृजनशील कृषि फर्म, दोलखा जिल्लाको गौरीशंकर–५ स्थित सुरी मैरीपालन तथा घार उद्योग, नुवाकोट जिल्लाको सूर्यगढी–५ स्थित नवयूवा कृषि फर्म, भक्तपुर जिल्लाको भक्तपुर–५ स्थित लक्ष्मी चिउरा उद्योग, चितवन जिल्लाको भरतपुर–२८ स्थित एसियन नेपाली कागज उद्योग, रामेछाप जिल्लाको मन्थली–१ स्थित मन्थली डिलक्स एग्रो फरेस्ट्री, सिन्धुपाल्चोक जिल्लाको चौतारा–साँगाचोकगढी–१० स्थित कफी सहकारी उद्योग र काभ्रे जिल्लाको पनौती–७ स्थित बि.जे.एस. ह्याण्डीक्राफ्ट एण्ड पनौती सेभिनियर हाउसलाई उत्कृष्ट उद्यमी घोषित गरिएको छ । उत्कृष्ट उद्यमीलाई नगद ४० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।