हेटौँडाः मुस्लिम इत्तेहाद संगठन जिल्ला कार्यसमिति मकवानपुरले टी–१० क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ । मंसीर १२ गतेदेखि १५ गतेसम्म हेटौँडा–४ स्थित हुप्रचौरमा प्रतियोगिता आयोजना गर्न लागेको हो । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताका सह–संयोजक प्रमोद मानन्धरले प्रतियोगिताको बारेमा जानकारी दिनुभएको छ ।
प्रतियोगितामा बागमती प्रदेश र मधेश प्रदेशबाट १६ वटा टिमको सहभागिता रहने सह–संयोजक मानन्धरले बताउनुभयो । नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल नेपाल स्टार क्लब र टिमबिल्ट फोर्टबीच हुनेछ । खेल बिहानको ८ बजेबाट सुरु हुने उहाँले बताउनुभयो ।
प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट बलर, म्यान अफ द म्याच र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई पनि ट्रफि प्रदान गरिने छ । प्रतियोगितामा मकवानपुर जिल्ला क्रिकेट संघको सहयोग रहने छ ।
पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक मुस्तफा अन्सारी, मुस्लिम इत्तेहाद संगठन बागमती प्रदेशका अध्यक्ष मोहमद समीम, जिल्ला क्रिकेट संघका सचिव विनोद बानियाँ लगायतको उपस्थिति रहेको थियो ।