हेटौंडाः मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । मंसीर १८ गतेदेखि २० गतेसम्म प्रतियोगिता हुनेछ । प्रतियोगिता आयोजनाका लागि गाउँपालिकाले ७ लाख रुपैयाँ बजेट छुट्याएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले जानकारी दिनुभएको छ । गाउँपालिकाको शिक्षा समितिको बैठकले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
शिक्षा समितिको बैठकको निर्णयपछि गाउँ कार्यपालिकाले अनुमोदन गरेर प्रतियोगिताको मिति तय गरेको उहाँले बताउनुभयो । बुधबार गाउँपालिकाले एक सूचना जारी गर्दै पालिका भित्रका विद्यालयका विद्यार्थीलाई प्रतियोगितामा सहभागी गराउनका लागि अनुरोध गरिएको छ । गाउँपालिका भित्रका सबै विद्यालयलाई प्रतियोगिताको बारेमा सूचना दिइसकेको उहाँले बताउनुभयो । गाउँपालिकामा रहेको २१ वटा विद्यालयहरुबाट ६ वटा माध्यमिक तहका विद्यालयका विद्यार्थीले मात्र प्रतियोगितामा सहभागिता जनाउन पाउने उहाँले बताउनुभएको छ । प्रतियोगिता इन्द्रसरोवर–२ स्थित हेभीचौरमा हुनेछ ।
प्रतियोगितामा महिला पुरुष भलिबल, एथ्लेटिक्स लगायतका खेलहरु सञ्चालन हुनेछ । कक्षा–१२ सम्म अध्ययनरत १८ बर्षभन्दा बढी उमेर समूहका विद्यार्थीको प्रतियोगितामा सहभागिता रहने बताइएको छ । प्रतियोगितामा सहभागी विद्यार्थी तथा प्रशिक्षकको खेल अवधीभर निशुल्क खाना र खाजाको व्यवस्था गरिएको बताइएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः स्वर्ण, रजत र कांस्य पदकसहित प्रमाणपत्र प्रदान गरिने छ । यसअघि मकवानपुरको थाहा नगरपालिकामा मंसीर १ गते शनिबार पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भइसकेको छ । अन्य पालिकाहरुले पनि प्रतियोगिताको आयोजना गर्ने तयारीलाई प्राथमिकता दिइरहेका छन् ।