जलवायु वित्तसम्बन्धी विरोध प्रदर्शनमा सहभागी युवा ।

हेटौंडाः हेटौंडामा जलवायु वित्त सम्बन्धी जनप्रदर्शनी भएको छ । अजरबैजानको बकुमा भइरहेको कोप–२९ ग्लोबल डे अफ एक्सन २०२४ को अवसरमा शनिबार हेटौंडामा न्यायपूर्ण जलवायु वित्तको ७ बुँदे माग गर्दै जनप्रदर्शन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्य तथा आयोजक कमिटीका अलिशा पुलामीको सभाध्यक्षमा कार्यक्रम भएको हो ।

हेटौंडाका स्वतन्त्र युवाहरूको आयोजनामा भएको प्रदर्शन कार्यक्रममा वन विज्ञान अध्ययन संस्थान परिसरबाट बिहान ८ बजे हेटौंडा–१०, स्थित वनविज्ञान क्याम्पसबाट बुद्धचोकसम्म सचेतना मूलक र्यालीको आयोजना गरिएको हो । जलवायु वित्तलाई ऋणको रूपमा नभएर अनुदानको रूपमा प्रदान गर्नुपर्ने, जलवायु वित्तले समावेशी वित्तीय दृष्टिकोणमा ध्यान दिनुपर्ने, औद्योगिक राष्ट्रहरूले जलवायु वित्तको विद्यमान प्रतिबद्धताहरू बनाउनुपर्ने, सयममै अनुदान र विश्वसनीय हुनुपर्ने, कोषको वितरण पारदर्शी र उत्तरदायी हुनुपर्ने तथा जलवायु वित्तले समुदाय केन्द्रित समाधानलाई प्राथमिकता दिनुपर्ने पिछडिएको वर्ग, आदिवासी समुदाय र विशेष चुनौती भएको व्यक्तिहरूको समस्या सम्बोधन गर्नुपर्ने प्रमुख माग राख्दै जनप्रदर्शनी गरिएको थियो ।

बाकुमा उपस्थित विभिन्न राष्ट्रका प्रतिनिधिहरू समक्ष हेटौंडामा आवाज पुर्याउने उद्देश्यले विभिन्न उमेर समूहका युवा र विद्यालयको प्रतिनिधिहरु, सरोकारवाला सहभागी भएका थिए । हेटौंडाका स्वतन्त्र युवाहरूको आयोजनामा भएको प्रदर्शन कार्यक्रममा वन विज्ञान क्याम्पस परिसरबाट बिहान ७ बजेर ३० मिनेटमा सुरु भएको र्यालीमा करिब २ सय ५० जना भन्दा बढी मानिसहरु सहभागी भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभाध्यक्ष अलिशा पुलामीले हेटौंडामा जस्तै अन्य १६ स्थानको सहरहरुमा जनप्रदर्शनी भएको बताउनुभएको छ । उहाँले हेटौंडामा अजरबैजानको बाकु सहरमा भैरहेको कोप २९ सम्म हेटौडाको आवाज पुराउन र जलवायु न्यायका लागि उठेको आवाज सुनी उचित सम्बोधन गर्न आवाहन गर्नका लागि कार्यक्रमको आयोजना गर्ने धारणा राख्नुभयो ।

आयोजकका सुशान्त खतीवडाले नेपाल जस्तो जलवायु सङ्कटबाट सबैभन्दा प्रभावित हुने देशहरूको न्यायको माग गर्दै र ग्लोबल नर्थको दोहोरो चरित्रको विरोधमा खडा भएको बताउनुभयो । सबैले ग्लोबल नर्थको अपराधको सजाय भोगिरहेको कारणले हेटौँडाबाट जोडदारका साथ जलवायु न्यायको माग गरेको उहाँले प्रष्ट पार्नुभयो । हेटौंडा उपमहानगरपालिकाकी मेयर तथा कार्यक्रमका प्रमुख अतिथि मीना कुमारी लामाले जलवायु परिवर्तनले हेटौंडामा पारेका प्रभावलाई पालिकाले न्यूनीकरण गर्नका लागि प्रयास गरेको बताउनुभएको छ । कोप २९ मा नेपाल र विश्वभरीबाट सहभागी हुनुभएको प्रतिनिधिलाई हेटौंडाको आवाजलाई सुनी न्यायोचित पहलकदमी गर्न आग्रह गर्नुभयो । जलवायु संकटले विश्वका सबै देशमा समान रूपको र साझा चुनौती सिर्जना नगरेको, ग्लोबल नर्थले आर्थिक वृद्धिका लागि गरेका क्रियाकलापहरुले दक्षिणका देशहरूविशेष गरी नेपालजस्ता देशहरुले दैनिक रूपमा यसको भयानक प्रभावहरूको सामना गरिरहेको, बाढी, खडेरी, र गर्मी लहरले हिमश्रिखंला दिन दिनै पगलिदै गएका बताइएको छ । नेपाल जस्तो देशको लागि जलवायु संकटले प्रति दिन नयाँ चुनौती थपदै गरेको कारणले जीविकोपार्जन र जैविक विविधतालाई नै खतरा पुर्याएको बताइएको छ ।

¥यालीमा सहभागी हुनु भएको प्रशन्नता लामिछानेले सबैको क्रियाकलाप जलवायु न्यायलाई प्राथमिकता दिने उद्देश्यमा केन्द्रीत रहेको बताउनुभएको छ । जलवायु सङ्कटको सामना गर्नका लागि उचित, निष्पक्ष, र पारदर्शी ढङ्गले जलवायु वित्तको वितरण गर्नुपर्ने उहाँले बताउनुभयो । आफूहरुले कोपा २९ मा उपस्थित विश्व नेताहरूलाई स्पष्ट सन्देश दिन चाहेको उहाँले बताउनुभयो । जलवायु परिवर्तनमा उनीहरूको प्रतिज्ञा र क्रियाकलापको जबाफदेहिता सुनिश्चित गर्न हरेक चरणमा आवाज उठाउने उहाँले प्रष्ट पार्नुभयो ।