Home खेलकुद सञ्जिवले जिते हेटौंडा रनको उपाधि

सञ्जिवले जिते हेटौंडा रनको उपाधि

हेटौँडा रनका उपाधि विजेता सञ्जिव मिजारलाई पुरस्कार हस्तान्तरण गर्नुहुँदै प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, साथमा नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्रप्रसाद घिमिरे ।

हेटौँडाः हेटौँडा–१४ का सञ्जिव मिजारले हेटौंडा रनको उपाधि जितेका छन् । नगर खेलकुद विकास समितिको आयोजनामा मंगलबार हेटौंडा–१० स्थित बुद्धचोकबाट सुरु भएको तेस्रो संस्करणको हेटौँडा रनको निर्धारित ५ किलोमिटरको दुरी मिजारले २० मिनेट २८ सेकेन्ड ९ मिलिसेकेन्डमा मिजारले पूरा गरे । हेटौंडा–५ का निशल तितुङले २० मिनेट ४२ सेकेन्ड ७२ मिलिसेकण्डमा निर्धारित दुरी पार गरे भने हेटौंडा–१८ का अभिशेक रोक्काले २० मिनेट ५१ सेकेन्ड ९२ मिलिसेकेण्डमा निर्धारित दुरी पूरा गर्दै तृतीय भएका छन् ।

हेटौँडा–१८ कै मनिष गोपालीले २१ मिनेट २० सेकेन्ड २७ मिलिसेकेन्डमा निर्धारित दुरी पूरा गरेर चौथो हुँदा हेटौंडा–१४ का अमृत सुनारले २१ मिनेट २७ सेकेन्ड ४० मिलिसेकेन्डमा निर्धारित दुरी पूरा गरेर पाँचौं भएका छन् । हेटौंडा–१८ की महिला प्रतियोगी रुवि भ्लुनले ३३ मिनेट २० सेकेन्ड १५ पलमा निर्धारित दुरी पूरा गरेकी छिन् । प्रतियोगिताको उपाधि विजेता मिजारले २५ हजार रुपैयाँ नगद र उपविजेता निशल तितुङले १५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै तृतीय भएका रोक्काले १० हजार रुपैयाँ र चौथो भएका गोपालीले ५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । पाँचौं भएका सुनारले ३ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्दा महिला प्रतियोगी भ्लुनले प्रोत्साहनस्वरुप २ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगितामा २५ जना खेलाडीहरुको सहभागिता रहेको थियो । बुद्धचोकबाट दौड सुरु गरेर भैरवरोड, लक्ष्मी आधारभूत विद्यालय, सूर्य चोक, बुद्धपथ, थाहाचोक, शितलमहलचोक, ओमभवन हुँदै पुनः बुद्धचोकमा पुगेर ५ किलोमिटरको दुरी पुरा भएको थियो । नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र प्रसाद घिमिरेको सभाध्यक्षमा तथा हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमको प्रमुख आतिथ्यमा पुरस्कार वितरण समारोह भएको हो । पुरस्कार वितरण समारोहमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइराला, नगर खेलकुदका सदस्य सचिव हरिचन्द्र सापकोटा, सदस्य सुनिल लोप्चन, विजय गौतम, उसु प्रशिक्षक विमल थापा मगर लगायतको उपस्थिति रहेको थियो ।

गत वर्ष खुला प्रतियोगिता आयोजना गरेको नगर खेलकुद विकास समितिले यस वर्ष भने नगरस्तरीय रन प्रतियोगिता आयोजना गरेर पुरस्कार राशि घटाएको छ । प्रतियोगितामा नेपाल एथ्लेटिक्स संघ मकवानपुर जिल्ला अध्यक्ष प्रभाकर पाण्डे, राष्ट्रिय निर्णायक राजाराम पोखरेल, संघका सदस्य विनोद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version