समाजमा बढ्दो अपराध सँगै कोरोना भाइरसका कारण मानव संकटमा छन् । कविताको माध्यमबाट कवि सुजन ढुङ्गाना अहिले सहरमा मानवता हराएको भन्दै आफुलाई मानव नबनाइदिन र मानवलाई दानब पनि नबनाईदिन सृष्टिकर्तालाई प्राथना गर्नुहुन्छ ।

हरेक दिन
समाचार पढ्छु सुन्छु,
आज यति जनाको मृत्यु भयो,
ठुलो संख्यामा
कोरोना संक्रमित थपिए ।
कोरोना मानव जातिको लागि धेरै खतरा भयो ।
फेरि सुन्छु,
मान्छे मानवबाट दानव बनेको ।
कस्तो ह्दयविदारक,
कुटिकुटि मान्छे मारेको
सासुले बुहारीको घाँटी निमोठेको ।
नाबालिका बलात्कृत भएको ।
मान्छेले मान्छे मार्नको लागि
परमाणु बम बनाएको ।
अनि फेरि सुन्छु,
फलफुलमा
बिष्फोटक पदार्थ मिलाएर
गर्भिणी हात्तीको हत्या गरेको ।
जन्मिन नपाउँदै मर्नु परेको,
प्रकृतिको
सुन्दर उपहारको विनाश गरेको ।।
सबै सुनेर पढेपछि भन्नै कर लाग्छ
सृष्टिको सबैभन्दा
कुरुप सिर्जना मानिस हो
जो अति नै क्रुर र समवेदनाहिन हुन्छ ।
पृथ्वीको
सबैभन्दा ठुलो भाइरस मानिस हो
र त्यसको सानो समाधान
कोरोना भाइरस हो ।
म सृष्टिकर्ता सङ्ग
एउटै प्राथना गर्छु
कि यो मानवता हराएको शहरमा
मलाई मानव नबनाइदेउ
अनि मानवलाई दानव नबनाईदेउ ।