Home मुख्य समाचार पूर्वविद्यार्थीद्वारा विद्यार्थीको शैक्षिक भ्रमणका लागि सहयोग

पूर्वविद्यार्थीद्वारा विद्यार्थीको शैक्षिक भ्रमणका लागि सहयोग

प्रधानाध्यापक श्रीराम दहाल (दायाँ) लाई सहयोग रकम हस्तान्तरण गर्नुहुँदै पूर्वविद्यार्थी समाजका अध्यक्ष सुरेश श्रेष्ठ (बायाँ), साथमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष विवेक कार्की (बीचमा) ।

हेटौँडाः हेटौँडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले विद्यार्थीको शैक्षिक भ्रमणका लागि आर्थिक सहयोग गरेको छ । श्रमिक माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीका लागि यसै साता पूर्वी नेपालको शैक्षिक भ्रमण कार्यक्रम रहेको छ । श्रमिक माध्यमिक विद्यालय पूर्वविद्यार्थी समाजको अग्रसरतामा पूर्वविद्यार्थीबाट १५ हजार पाँच सय रुपैयाँ संकलन गरेर बुधबार हस्तान्तरण गरिएको छ ।

श्रमिक माध्यमिक विद्यालय पूर्वविद्यार्थी समाजका अध्यक्ष सुरेश श्रेष्ठले भ्रमण जाने विद्यार्थी र विद्यालय व्यवस्थापन समितका अध्यक्ष विवेक कार्कीको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक श्रीराम दहाललाई सहयोग रकम हस्तान्तरण गर्नुभयो । आफ्नो समय शैक्षिक भ्रमण जाँदै गर्दा आर्थिक अभावलाई महसुस गर्दै हाल अध्ययनरत विद्यार्थीको भ्रमणलाई सहज र सफल बनाउन आवश्यक सहयोग गर्ने प्रयास गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभएको छ । विद्यार्थीले भ्रमण गर्ने स्थानको सामाजिक, साँस्कृतिक, भौतिक विकास र वस्तुस्थितिका बारेमा बुझेर यात्रा संस्मरण लेखनमा पनि ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

पूर्वविद्यार्थीको तर्फबाट विद्यालयको समग्र विकासमा गर्न सकिने सहयोगका लागि तयार रहेको श्रेष्ठले बताउनुभयो । पूर्वविद्यार्थीको तर्फबाट स्वतःस्फूर्तरुपमा भएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुहुँदै प्रधानाध्यापक दहालले विद्यार्थीलाई सुरक्षित तवरबाट भ्रमणको व्यवस्था गरिने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्कीले विद्यार्थीलाई विद्यालयको वातावरण र सुधार गर्नुपर्ने पक्षका विषयमा विद्यार्थीलाई आवश्यक सल्लाह, सुझाव दिन आग्रह गर्नुभएको छ । १० कक्षासम्म पठनपाठन हुने श्रमिक माध्यमिक विद्यालयमा ६५० जना विद्यार्थी अध्ययनरत छन् ।

Exit mobile version