हेटौँडाः आज मंगलबार हरिबोधिनी एकादशी पर्व मनाइँदै छ । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीको रूपमा लिइन्छ । जनविश्वास तथा धार्मिक परम्पराअनुसार आजको दिन भगवान् विष्णु उठ्नुहुन्छ भन्ने छ । हरिशयनी एकादशीबाट चीर निद्रामा सुत्नुभएका विष्णु भगवान् आज उठ्ने विश्वास भएकाले पनि आजको एकादशीलाई विशेष मानिन्छ ।
आजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ । वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा पनि महत्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, साँस्कृतिक र वैज्ञानिक रूपमा पनि निकै महत्व रहेको छ । हरिशयनी एकादशी अर्थात् तुलसी रोप्ने एकादशीमा रोपिएको तुलसीको बिरुवा आजको दिनसम्म निकै हुर्किएको हुन्छ । आषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीको बिरुवालाई आजको दिन पिपलसँग विवाह गरिदिने प्रचलन पनि रहेको छ । यसका लागि तुलसीको मठको चारैतर्फ बाँसको लिङ्गो गाड्ने अनि रंगरोगन गरेर शृङ्गार गर्ने चलन रहेको छ । आजको दिन हिन्दु धर्मालम्बीहरुले रुद्री पूजा गर्ने चलन पनि रहेको छ ।
आजको दिन नेपालभरका विभिन्न भगवान् विष्णुका मन्दिर तथा तीर्थस्थलमा तीर्थाटन गर्ने भक्तजनहरूको व्यापक भीड लाग्ने गर्छ । यस्तै हेटौंडाको आसपासमा रहेका धार्मिकस्थल मकवानपुरगढी, त्रिखण्डी, कुश्माण्डव सरोवरमा मेला लाग्छ ।