हेटौँडाः मधेश प्रदेशको बारा जिल्लाको निजगढ नगरपालिका–१२ मा आँखा अस्पताल तयार भएको छ । नगरपालिकाले उपलब्ध गराएको १० कठ्ठा जमिनमा १९ करोड लागतमा २ वर्षको अवधिमा अस्पताल तयार भएको हेटौँडा सामुदायिक आँखा अस्पतालका प्रबन्धक सुधीर श्रेष्ठले जानकारी दिनुभएको छ । भोलि बुधबार मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले आँखा अस्पतालको उद्घाटन गर्नुहुनेछ । अस्पताल उद्घाटन कार्यक्रममा विख्यात नेत्र विशेषज्ञ डा. सन्दुक रुइतको पनि सहभागिता रहनेछ ।
डा. रुइत नेतृत्वको तिलगंगा आँखा अस्पतालको अग्रसरतामा निर्मित चौथो अस्पतालको रुपमा निजगढको आँखा अस्पताल रहनेछ । काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालपछि हेटौँडामा २०६५ साल मंसिर ५ गते हेटौँडा सामुदायिक आँखा अस्पताल सञ्चालनमा आएको थियो । गत वर्ष मात्रै भक्तपुरमा पनि आँखा अस्पताल सञ्चालनमा आएको थियो ।
अस्पतालको भवन र आवश्यक उपकरण खरिद तथा जडानसमेत गरी कुल १९ करोड रुपैयाँ खर्च भएको हेटौँडा सामुदायिक आँखा अस्पतालका प्रबन्धक सुधीर श्रेष्ठले जानकारी दिनुभयो । हेटौँडा सामुदायिक आँखा अस्पतालकै ढाँचामा निजगढमा आँखा अस्पताल स्थापना गरिएको उहाँले बताउनुभयो । मधेश प्रदेशमा आँखाका रोगीको संख्या उल्लेख्य रहेकोले निजगढलाई उपयुक्त स्थान मानेर अस्पताल निर्माण गरिएको बताइएको छ ।
अष्ट्रेलियाको फ्रेड होलोज फाउण्डेशनको सहयोगमा निजगढमा आँखा अस्पताल स्थापना भएको हो । निजगढ आँखा अस्पतालमा वरिष्ठ नेत्र स्वास्थ्य विशेषज्ञको नेतृत्वमा आकस्मिक, बहिरंग सेवाका साथै शल्यक्रिया सेवा समेत प्रदान गरिनेछ । यस्तै चश्मा र औषधी विक्री गरिने छ । अस्पतालको औपचारिक उद्घाटन नभए पनि सेवा प्रदान गर्न सुरु गरिसकेको छ । सोमबारसम्ममा ४ हजार ५ सय जनाले बहिरंग सेवा लिएका र ३ सय २४ जनाले आँखाको शल्यक्रिया गराएका छन् । आँखा परीक्षणपछि शल्यक्रिया गर्नुपर्ने एक सय विरामीको शल्यक्रिया गर्न बाँकी रहेको बताइएको छ ।