हेटौंडाः रौतहट जिल्लाको कटहरिया नगरपालिकामा भएको मेयरकप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मकवानपुर जिल्लाको क्रिकेट टिमले जितेको छ । आइतबार कटहरिया नगरपालिकामा भएको फाइनल खेलमा आयोजक कटहरिया नगरपालिकाको टिमलाई ५ विकेटले हराउँदै मकवानपुरले उपाधि जितेको हो ।
टस जितेर पहिले व्याटिङ गरेको आयोजकले १७ ओभरमा ८६ रन बनाउँदै अल आउट हुन पुगेको थियो । आयोजकका रोहित सोनालले २० रनको योग्दान दिँदा नितेश कुमारले ८ रन मात्र जोड्न सफल भएका थिए । मकवानपुरका रोहित ठाकुर र समीर चौलागाईँले समान ३÷३ विकेट लिए । यस्तै पियुष शर्माले २ विकेट लिए ।
आयोजकले दिएको ८७ रनको लक्ष्य पछ्याएको मकवानपुरले १३ ओभर ४ बलमा ५ विकेटको क्षतिमा भेट्टायो । मकवानपुरका विशाल फँुयालले २५ रन, तक्षक सिम्खडाले १७ रन र इरफान अलीले १५ रनको योग्दान दिए । आयोजकका भोला मल्लले २ विकेट लिए भने रोहित सोनालले १ विकेट लिए । प्रतियोगिताको सर्वोकृष्ट व्याट्सम्यान मकवानपुरका शुभ कंसाकार र उत्कृष्ट बलर मकवानपुरकै असीम श्रेष्ठ घोषित हुँदै ट्रफी र जनही २ हजार ५ सय रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगिताको उपाधि विजेता मकवानपुरको टिमले ५५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आयोजकको टिमले ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । कात्तिक १६ गतेबाट सुरु भएको मेयरकप क्रिकेट प्रतियोगितामा मकवानपुर जिल्लासहित ८ वटा टिमको सहभागिता रहेको थियो । यसअघि पनि मकवानपुर विभिन्न जिल्लाको प्रतियोगिताहरुमा सहभागी हुँदै जित निकालेको टिम कप्तान सुमन सुनार बताउनुहुन्छ ।