हेटौंडाः चैनपुर जेसीज मनहरीको आयोजनामा मकवानपुरको मनहरी गाउँपालिकामा जारी फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा परेली युवा क्लब बस्तिपुर र ढेंडो एफसी हेटौंडा विजयी भएको छ ।
आइतबार मनहरी गाउँपालिकाको गोलघर खेलमैदानमा भएको पहिलो खेलमा ढेंडो एफसीले नेवारपानीको सक्षम युवा क्लबलाई ४–२ गोलअन्तरले हराएको हो भने दोस्रो खेलमा टिएनटी एफसीलाई २–१ गोलअन्तरले हराउँदै परेली युवा क्लब विजयी भएको हो । ढिँडोको तर्फबाट समिराज थोकरले २ र विश्व लामाले एक गोल गरे । ढिँडोको टिमले एक गोल उपहारस्वरुप आत्मघाती प्राप्त गरेको हो । सक्षमको टिमबाट राहुल थापा र सन्देश पाख्रिनले समान २/२ गते पनि टिमलाई हारबाट बचाउन सकेनन् ।
दोस्रो खेलमा परेलीको तर्फबाट रोज मोक्तान र साजन थिङले समान एक/एक गोल गरेका थिए भने हार व्यहोरेको टिएनटीको तर्फबाट रविन मोक्तानले एक गोल गरेका थिए । म्यान अफ द म्याच ढेंडो एफसीका समिराज थोकर र परेलीका साजन थिङ घोषित भए । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैयाँ १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५१ हजार १ सय ५१ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । मनहरी गाउँपालिका ४ नम्बर वडा कार्यालयको मुख्य प्रायोजन तथा मनहरी गाउँपालिकाको सहयोगमा प्रतियोगिता सञ्चालन भइरहेको हो ।