कार्यक्रममा सम्बोधन गर्नुहुँदै मन्त्री काफ्ले ।

हेटौँडाः बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले खेलकुद क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । खेलकुद क्षेत्रलाई सरकारले प्रमुखताका साथ अघि बढाउने उहाँले बताउनुभएको छ ।

मन्त्री काफ्लेले सरकारले खेलकुल पूर्वाधारसँगै खेलाडी प्रोत्साहनमा समेत लगानी बढाउने बताउनुभयो । मन्त्री काफ्लेले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आएको उहाँको भनाई छ । चरिकोटमा निर्माणाधिन रंगशाला निर्माण सम्पन्न गर्न प्रदेश सरकारले बजेट विनियोजन गर्ने पनि उहाँले बताउनुभयो । “खेल क्षेत्रको विकासमा राज्यले विशेष ध्यान दिनुपर्छ । पछिल्लो समय खेलकुदमा नेपालले फड्को मारेको छ । हाम्रा खेलाडिले समेत देश विदेशमा खेल जित्दै आएका छन् । सरकारले खेलाडी र खेल पूर्वाधारमा पनि महत्वका साथ लगानी गर्छ”, मन्त्री काफ्लेले भन्नुभयो ।

उहाँले अबको राजनीति समाज परिवर्तन र विकासका लागि हुनुपर्ने बताउनुभयो । मन्त्री काफ्लेले शिक्षा क्षेत्रमा सुधार गर्न सकेमात्र देश परिवर्तन हुने बताउनुभयो । उहाँका अनुसार नेपाली युवालाई मुलुकभित्रै भविष्य खोज्ने वातवरण बनाउनु नै मुख्य चुनौती रहेको छ । यसबारे गम्भीर हुनु आवाश्यक रहेको उहाँले औँल्याउनुभयो । देश परिवर्तनको लक्ष्य रहेपनि केही व्यक्ति र समुहले विकास भएन भन्ने भाष्य निर्माण गर्न खोजीरहेको उहाँले दावी गर्नुभयो । नेपाली युवालाई उद्यमशीलताको बाटोमा सहज ढंगले लाग्ने वातावरण तयार गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।