यसै वर्षको देउसीभैलो कार्यक्रमअन्तर्गत बुलेट बाबाको रुपमा प्रहसन प्रस्तुत गर्दै गर्दाको प्रभासको तस्वीर ।

हेटौंडाः हेटौँडाका युवा साहित्यकार प्रभास घिमिरेको निधन भएको छ । हेटौंडा–१७, हटियाका २० वर्षीय घिमिरेको बुधबार भारतको लखनउमा कार दुर्घटनामा परी निधन भएको हो । घिमिरेसँगै दुर्घटनामा परी ३ जना नेपाली नागरिकको मृत्यु भएको थियो । घिमिरेको शुक्रबार हेटौँडा–९ स्थित त्रिवेणीधाममा अन्त्येष्टी गरिएको छ ।

२०६० साल कार्तिक ३० गते जन्मिएका घिमिरे संस्कृत विषय अध्ययनका लागि वृन्दावनमा बस्दै आएका थिए । नवसर्जक साहित्य चौतारीमार्फत साहित्य रचनामा सक्रिय घिमिरेको निधनले मकवानपुरे साहित्यमा ठूलो चोट पुगेको नवसर्जक साहित्य चौतारीका संरक्षक एव्म परिकल्पनाकार दीपक गौतमले जानकारी दिनुभएको छ । नवसर्जक साहित्य चौतारीको केन्द्रीय संस्थापक सदस्य समेत रहनुभएका घिमिरे दशैँ, तिहार लगायतको विदा सकाएर अध्ययनका लागि वृन्दावनतर्फ मंगलबार प्रस्थान गर्ने क्रममा दुर्घटनामा परेका हुन् । चितवन जिल्लाको देवघाटस्थित महेश सन्यास आश्रमबाट माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका घिमिरेले उत्तर मध्यमा पनि सोही आश्रमबाट गरेर शास्त्री तहको अध्ययनका लागि वृन्दावन पुगेका थिए ।

हास्यव्यङ्ग्यका साथै छन्द कवितामा कलम चलाउने घिमिरेले पछिल्लो समय सिस्नुपानी नेपाल मकवानपुरले तिहारको अवसरमा आयोजना गरिएको देउसी–भैलोमा बुलेट बाबाको भूमिकामा प्रभावशाली प्रस्तुती गरेका थिए । हेटौंडामा हुने साहित्यिक कार्यक्रममा हास्यव्यङ्ग्य कविता समेत वाचन गरेका व्यङ्ग्यकार घिमिरेले आफूलाई नवसर्जक साहित्य चौतारी मार्फत देश, विदेशमा भर्चुअल माध्यमबाट समेत प्रस्तुत गरेका थिए । राष्ट्रियस्तरको हास्यव्यङ्ग्य कविता प्रतियोगिता, गत वर्ष नेपाल सिस्नुपानी मकवानपुरले आयोजना गरेको राष्ट्रियव्यापी हास्यव्यङ्ग्य खुल्ला कविता प्रतियोगितामा समेत सहभागी भएका थिए भने राष्ट्रव्यापी कविता प्रतियोगितामा द्वितीय स्थानमा पर्न सफल भएका थिए । घिमिरेको निधनप्रति दुख व्यक्त गर्दै विभिन्न व्यक्तित्वहरुले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।