हेटौँडाः चितवनको भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा बस र माइक्रोबस ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ३ बजेको समयमा नारायणगढ मुग्लिन सडक खण्डमा मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बा प्र ०६–००१ ज ०२९८ नम्बरको ईभि हाइस र विराटनगरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २८१२ नम्बरको बस एक आपसमा ठोकिँदा ५ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

मृतकहरुको परिचय नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ज्यान गुमाउने पाँच जना र घाइतेमध्ये गम्भीर रहेका एक जना माइक्रोबसका यात्रु रहेका प्रहरीले जनाएको छ । बस चालक हेटौँडा–९ का ४४ वर्षीय सुर्य बिक्रम विष्टलाई सास फेर्न गाह्रो भई उपचारका लागि नयाँ मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ ।