फाइल तस्वीर ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा शुक्रबारबाट दोस्रो संस्करणको चैनपूर जेसीज खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । चैनपुर जेसीज मनहरीको आयोजनामा मनहरी–४, मसिनेस्थित गोलघर खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महजर्नले गर्नुभयो ।

उद्घाटन खेलमा मनहरी गाउँपालिकाको ४ नम्बर वडाले सुखद् सुरुवात गरेको छ । हेटौंडा उपमहानगरपालिका पदमपोदखरीको एफसी नमोबुद्ध क्लबलाई २–० गोलले हराउँदै एफसी नमोबुद्धले विजयी सुरुवात गरेको हो । नमोबुद्धको जीतमा सुनिल लामाले २६ मिनेटमा र स्यामुयल सुनारले ४३ मिनेटमा सम्मान एक–एक गोल गरे । म्यान अफ द म्याच सुनार घोषित भए ।

गाउँपालिकाको ४ नम्बर वडाको मुख्य सहयोगमा सञ्चालन भएको प्रतियोगिताको विजेताले एक लाख एक हजार १११ रुपैयाँ र उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ तथा अन्य विधागत उत्कृष्टले जनही नगद ३ हजार ५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा १६ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल मंसीर ३ गते हुनेछ । गत वर्ष भएको पहिलो संस्करणको प्रतियोगिताको उपाधि प्रदेश प्रहरी गणको टिमले उपाधि जितेको थियो ।

चैनपूर जेसीज मनहरी वर्ष २०२४ का अध्यक्ष रविन ढकालको सभाध्यक्षमा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा गाउँपालिकाको अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्य रहेको थियो । उद्घाटन समारोहमा जनप्रतिनिधि, वडाध्यक्षहरु र राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको थियो । प्रतियोगिता अन्तर्गत आज शनिबारको खेलमा हाँडीखोला युथ क्लब र जनसिद्ध युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।