कार्यक्रमको क्रममा खिचिएको तस्वीर ।

हेटौंडाः प्रतिनिधिसभा सदस्य बिन्दबासिनी कंसाकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइका लागि मात्र नभई सहकारी पीडितकोे न्यायका लागि विरोध कार्यक्रमको आयोजना गरेको बताउनुभएको छ । सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला कार्यसमिति मकवानपुरले हेटौंडामा आयोजना गरेको बिरोध ¥यालीलाई सम्बोधन गर्नुहुँदै सांसद कंसाकारले पार्टीका केन्द्रिय सभापति रवि लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोधका लागि पक्राउ गरेको बताउनुभएको हो ।

सांसद कंसाकारले सभापति लामिछनेको विरुद्धमा दुई तिहाइको सरकारले आन्दोलन चर्काउने काम गरिरहेको बताउनुभएको छ । राजनैतिक प्रतिशोध, अनियमिता, बेथिति र भ्रष्टाचार बिरुद्धको खबरदारी तथा विरोध कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कंसाकारले लामिछानेलाई पक्राउ गरेर लगिएको अदालतमा हातहतिरयार लिएर गएर गैरकानुनी काम गरेको आरोप लगाउनुभयो ।

दुई तिहाइको सरकारले वास्तविक सहकारीको ठगी गर्नेको खोजी नगरेर लामिछानेलाई फसाउने काम गरिरहेको उहाँले जिकिर गर्नुभयो । रास्वपाले संविधान मानेर अगाडि बढ्ने काम गरिरहेको उहाँले बताउनुभयो । भ्रष्टाचारी दुई तिहाइको सरकारको कारणले लामिछानेलाई सहकारीको रकम अपचलन गरेको आरोप लगाइएको उहाँको भनाइ छ ।

रास्वपा राक्सिराङ गाउँपालिका सभापति राजन मल्लले सहकारीको रकम ठगीको आरोपमा पार्टीका अभिभावक लामिछानेलाई फसाउने काम गरेको धारणा राख्नुभयो । सबैजना मानिसहरु एकजुट भएर यस्ता प्रकारका नकारात्मक कार्यलाई बन्द गर्ने कार्यमा लाग्नुपर्ने उहाँले बताउनुभयो । वास्तविक अपराधीलाई पक्राउ गरेर लामिछानेलाई न्याय दिन सबै लाग्नुपर्ने उहाँको भनाइ छ ।

पार्टीका नगर कमिटी विभागका प्रमुख विशालराज महतले पार्टी स्थापना भएको २ वर्षको अवधिमा धेरै कामहरु गरेको बताउनुभएको छ । महतले झुटो आरोप लगाउनका लागि सहकारी छानविन समिति गठन गरिएको बताउनुभयो । लामिछानेले पार्टीको माध्यमबाट भ्रष्टाचार, अनियमिता लगायतका कार्यलाई हटाउने काममा लागि परेको उहाँको भनाइ छ । वास्तविक अपराधीलाई छोडेर एकलौटी ढंगबाट लामिछानेलाई मात्र छानविन गर्ने कार्य गरेको उहाँको धारणा छ । गैरकानुनी ढंगबाट सम्पत्ति कमाउनेहरुको छानविन कार्य नभएको उहाँले बताउनुभयो ।

हेटौंडा–१० स्थित भूटनदेवी मन्दिर रोडबाट सुरु भएको विरोध र्याली सोलिड्यारिटी बोर्डिङ, हेटौंडा अस्पताल, राप्तीरोड, बुद्धचोक, होटल लोकप्रिय, मानसचोक, कांग्रेसचोक, कान्तिलोकपथ हुँदै स्कुलरोडमा पुगेर कोणसभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा करिब एक हजार मानिस सहभागी भएका थिए । मंगलबार काठमाडौंमा विरोध प्रर्दशन हुने बताइएको छ । केन्द्रीय सभापति लामिछानले पक्राउ परेको विरोधमा विभिन्न जिल्लामा विरोध प्रर्दशन गरिएको छ ।