हेटौँडाः मकवानपुर हस्तकला संघको आठौं साधारण सभा तथा सातौं अधिवेशन सम्पन्न भएको छ । शनिबार भएको अधिवेशनबाट पुनः रमेश राज बज्राचार्य सर्वसम्मत अध्यक्षमा चयन हुनु भएको छ ।

अधिवेशनबाट उपाध्यक्षमा टिका कुमारी श्रेष्ठ, महासचिवमा पञ्चमाया स्याङ्तान, सचिवमा सुरेश बज्राचार्य र कोषाध्यक्षमा शोभा श्रेष्ठ चयन हुनु भएको छ । यस्तै सदस्यमा बिमला अर्याल, गीता रानाभाट, विनिता पौडेल, सुनिता हाडा, सुजन राई र ज्ञानभक्त लामा चयन हुनु भएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको प्रमुख आतिथ्य तथा संघका अध्यक्ष रमेश राज बज्राचार्यको सभाध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रमोद सिंह रानाभाट, मकवानपुर सुनचाँदी व्यावसायि संघका अध्यक्ष पवन शाक्यको पनि आतिथ्य रहेको थियो ।

संघले स्थानीय उत्पादनलाई जोड दिँदै आएको छ । संघले हस्तकला सम्बन्धी तालिमको पनि आयोजना गर्दै आएको छ । हस्तकलाअन्तर्गत काष्ठकला, थाङ्का चित्रकला, केराको पातकोे रेसाको, सिस्नुको रेसाको कपडा, ढाकाको कपडा, व्याग, टोपी आदि उत्पादन गरेर स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा बिक्री भइरहेको अध्यक्ष बज्राचार्यले जानकारी दिनुभयो ।