सर्वोत्कृष्ट महिला सहकारीको रुपमा हेटौँडा–१२ स्थित महिला जनशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सम्मान गरिँदै ।

हेटौँडाः जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको १९ औं वार्षिक साधारणसभा शनिबार हेटौँडामा सम्पन्न भएको छ । साधारणसभाले निष्क्रिय रहेका १३ वटा प्रारम्भिक सहकारीको सदस्यता खारेजी गर्ने निर्णय गरेको छ । साधारणसभाले निर्णय गरेपछि ३५ दिने सूचना प्रकाशित गरेर थप प्रक्रिया अगाडि बढाइने संघले जनाएको छ ।

संघले इतिहासमै पहिलो पटक सदस्यता खारेजीको प्रक्रिया अगाडि बढाएको हो । संघकी व्यवस्थापक सुमित्रा वाईबाकाअनुसार संघको विनियम भएको व्यवस्थाअनुसार मासिक बचत नगर्ने, वार्षिक सदस्यता शूल्क नबुझाउने, ३ वटासम्म साधारणसभामा सहभागिता नजनाउने प्रारम्भिक संस्थाको सदस्यता खारेजी गर्ने निर्णय साधारणसभाले गरेको हो । अहिले एक सय ३५ वटा प्रारम्भिक सहकारी संस्था संघमा सदस्य छन् । संघले सदस्य संस्था, सदस्य संस्थाका पदाधिकारी, कर्मचारीको क्षमता विकास, संस्थागत बचत तथा ऋण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

संघकी अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन कार्यक्रम भएको थियो । वार्षिक साधारणसभाको अवसरमा संघले सर्वोत्कृष्ट सहकारीको रुपमा हेटौँडा–१५ स्थित महिला जनशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड, थाहा नगरपालिका–६ स्थित बज्रबाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सहकारी अभियानकर्मी पार्वती राना, नारायणप्रसाद देवकोटालाई सम्मान गरेको छ ।

यस्तै संघले दैनिक कारोबारमा उत्कृष्ट थाहा नगरपालिका–७ स्थित कुटेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सम्मान गरेको छ भने बज्रबाराही र उत्पीडित उत्थान सहकारी एकीकृत भई निर्माण भएको बज्रबाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पनि सम्मान गरेको छ । यस्तै संघले संघमा बढी बचत गर्ने, संघबाट बढी ऋण परिचालन गर्ने र बढी सेयर गरिद गर्ने सहकारीहरुलाई पनि सम्मान गरेको छ ।

जिल्ला बचत तथा ऋण सहकारी संघको सेयर पुँजी ४ करोड ७६ लाख रुपैयाँ रहेको छ भने एक अर्ब २९ करोड ६१ लाख रुपैयाँ बचत संकलन रहेको छ । विभिन्न कोषहरुमा ४ करोड ५५ लाख रुपैयाँ रहेको संघले सदस्य सहकारीलाई १२ करोड ९३ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।