हेटौँडाः यतिबेला हेटौँडा उपमहानगरपालिकाका संस्थागत र सामुदायिक दुबैखाले अधिकांश विद्यालयमा पर्व बिदा छ । केही विद्यालयले माध्यमिक तहका विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गरेका छन् । तर, हेटौँडा–१८, खडकुलेस्थित मकवानपुर बालविद्या सदनले भने दसैं र तिहार बीचको विदाको समयलाई सदुपयोग गर्ने उद्देश्यले सीप सिकाई साता सञ्चालन गरिरहेको छ ।
गत मंगलबार बाट सुरु भएको सीप सिकाई साता आगामी बुधबारसम्म सञ्चालन हुने छ । सीप सिकाई सतामा विद्यार्थीलाई विभिन्न किसिमका सीपहरु सिकाइरहेको प्रिन्सीपल सुदीप राज गिरीले जानकारी दिनुभयो । चाडपर्वको बेलामा विद्यार्थीलाई कक्षा कोठा भन्दा बाहिर रहेर पनि सबै किसिमका कामहरु सिकुन् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उहाँको भनाई छ ।
![](https://samriddhasamaj.com/wp-content/uploads/2024/10/mbbs2-1024x768.jpg)
विद्यार्थीलाई बिहान साढे ५ बजेदेखि बेलुका ४ बजेसम्म विद्यालयमै राखेर विभिन्न किसिमका सीपमुलक तालिम प्रदान गरिएको गिरीले जानकारी दिनुभयो । ६ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीलाई टपरी बुन्ने, गुन्द्री बुन्ने, बत्ती बनाउने, व्यवसाय गर्ने, रंग लगाउने लगायतका सीप सिकाइरहेको छ । यस्तै कक्षा नर्सरीदेखि ५ कक्षासम्मका बालबालिकालाई कपाल बाट्ने, सरसफाइ गर्ने, सामान किन्न सिकाउने, जुत्ताको तुना बाँध्य सिकाउने, आकस्मिक अवस्थामा प्रयोग हुने टेलिफोन गर्ने अभ्यास गराउने काम भइरहेको प्रिन्सीपल गिरीले बताउनुभयो ।
बिहान ५ बजेदेखि ७ बजेसम्म विद्यार्थीलाई पतञ्जली योग गुरुबाट योगा कक्षा प्रदान गरिएको छ । यस्तै विद्यालयमा अध्ययनरत छात्रछात्रा दुवैलाई महिनावारी स्वास्थ्य सम्बन्धी कार्यक्रम ६ गते सञ्चालन गरिएको छ भने १२ गते फेरि पनि यस सम्बन्धी कक्षा सञ्चालन गरिने प्रिन्सीपल गिरीले जानकारी दिनुभयो । यस्तै मनोसामाजिक स्वास्थ्य सम्बन्धी तालिम विज्ञ पम्फा पुरीले प्रदान गर्नुभएको छ ।
![](https://samriddhasamaj.com/wp-content/uploads/2024/10/mbbs3-1024x768.jpg)
गत बुधबार र बिहिबार ६ कक्षादेखि ८ कक्षासम्मका विद्यार्थीलाई उद्घोषणसम्बन्धी तालिम दिइएको थियो । उद्घोषण तालिममा छवि अनित्यले सहजीकरण गर्नुभएको थियो । यस्तै विद्यार्थीलाई यौन दुव्र्यवहार तथा लागूऔषध दूव्र्यसनविरुद्ध सचेतना सम्बन्धी कार्यक्रम समेत गरिएको छ । आत्मरक्षासम्बन्धी तालिम छात्रहरूलाई आइतबार र सोमबार हुनेछ ।
सीप सिकाई सातामा विद्यार्थीले तयार पारेको सामग्रीहरुलाई आगामी बुधबार समापनको दिन प्रदर्शनीमा राख्ने र त्यसको मूल्याङ्कन गरिने उहाँले बताउनुभयो । विद्यार्थीले उत्पादन गरेको सामग्रीहरुलाई विद्यालयमा आयोजना हुुने विभिन्न कार्याक्रमहरुमा प्रयोग गरिनेछ ।
![](https://samriddhasamaj.com/wp-content/uploads/2024/10/mbbs6-768x1024.jpg)