डीबी बर्तौलाको तेस्रो मुक्तक संग्रह ‘उज्यालोका बाछिटा’ विमोचन गरिँदै ।

हेटौंडाः साहित्यकार डीबी बर्तौलाको मुक्तक संग्रह ‘उज्यालोका बाछिटा’ को गृह विमोचन तथा परिचर्चा भएको छ । शनिबार साहित्य संगम मकवानपुरको आयोजनामा संगमकै सभाकक्षमा बर्तौलाको मुक्तक संग्रह विमोचन गरिएको हो । ३४८ औं नियमित साहित्य सन्ध्याको अवसरमा बर्तौलाको तेस्रो मुक्तक संग्रहको विमोचन गरिएको हो । यसअघि छिमेकी राष्ट्र भारत भ्रमणको क्रममा बर्तौलाको तेस्रो कृति ‘उज्यालोका बाछिटा’ रेलमै विमोचन गरिएको थियो ।

कृति विमोचनपछि मुक्तक मञ्च मकवानपुरका संस्थापक अध्यक्ष तथा साहित्य संगम मकवानपुरका अध्यक्ष बर्तौलाले आफ्नो कृतिमा समावेश भएको ३ वटा मुक्त वाचन गर्नुभएको थियो । १०८ पृष्ठको मुक्तक संग्रहमा ९२ वटा मुक्तक सामवेश छन् । यसअघि २०७५ सालमा बर्तौलाको पहिलो मुक्तक संग्रह ‘आगतको आँगनी’ र दोस्रो मुक्तक संग्रह ‘पसिनाको आभा’ २०७८ सालमा सार्वजनिक भइसकेको छ ।

हेटौंडा–२, स्थित मकवानपुर बहुमुखी क्यापसका उपप्राध्यापक घनश्याम घिमिरेले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्नुभएको थियो भने आयुष्मा भण्डारीले पाठकीय टिप्पणी गर्नुभएको थियो । उपप्राध्यापक घिमिरेले बर्तौलाको मुक्तकमा समकालिन समाज र जीवनका कमिकमजोरीमाथि व्यङ्ग्य पाउन सकिने बताउनुभयो । माध्यमिक तहका विद्यार्थीका लागि उपयुक्त हुन सक्ने र उखान, ट्ुक्काको सन्दर्भलाई बुझ्न, बुझाउन पनि बर्तौलाको मुक्तक संग्रह उपयोगी हुन सक्ने घिमिरेको भनाइ थियो ।

साहित्य संगम मकवानपुरका उपाध्यक्ष सानु खनालको सभाध्यक्ष तथा साहित्यकार आरसी रिजालको प्रमुख आतिथ्यमा विमोचन कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देलको विशिष्ट आतिथ्य रहेको थियो ।