प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र बुझाउँदै पीडित परिवार ।

हेटौँडाः मकवानपुरको सिस्नेरीमा पहिरोमा परी ६ जना किशोरको मृत्यु भएको विषयमा छानविनको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । गत असोज १२ गते मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–३, टेकरमा खसेको पहिरोमा परी ज्यान गुमाएका एन्फा एकेडेमीका ६ जना किशोर खेलाडीका परिवारले प्रधानमन्त्री ओलीलाई पत्र बुझाइएको हो ।

प्रधानमन्त्री ओलीसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेटी घटनाका दोषीलाई कारवाही गर्न मृतकका परिवारले माग गरेका छन् । उनीहरुले शुक्रबार प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई छुट्टाछुट्टै भेटी घटनाको विषयमा उच्चस्तरीय छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् । पीडित परिवारले एकेडेमी व्यवस्थापनको लापरवाहीको कारण घटना भएको भन्दै ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।

पीडित परिवारका तर्फबाट ललित घलान, हेमबहादुर योञ्जन, दीपा बानियाँ, कमला रेग्मी, टीकाराम आचार्य र भक्तबहादर बलम्पाकीले संयुक्तरुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । पत्र बुझाउँदै उनीहरुले मृतक खेलाडीहरुको नाममा अक्षयकोषको स्थापना गरी प्रत्येक वर्ष खेलाडीहरुको स्मृतिमा राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्नुपर्ने माग पनि गरेका छन् ।

उक्त घटनामा परी ज्यान गुमाएका मकवानपुरका अनुमप घलानका बुबा लालित घलानले प्रधानमन्त्री ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र माधव कुमार नेपाललाई भेटी घटनाको विषयमा सत्यतथ्य छानविनका लागि उच्चस्तरीय छानविन समिति बनाउन माग गरेको जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र अध्यक्ष नेपालले आफुहरु पीडित परिवारहरुको पक्षमा रहेको र घटनाको बारेमा सत्यतथ्य पत्ता लगाउन सहयोग गर्ने जवाफ दिएको जानकारी दिनुभयो ।

असोज १२ गते बिहान कुलेखानी ड्यामको सतह भरिएर ढोका खोलिएपछि एकेडेमीको होस्टेलमा रहेका ३६ जना विद्यार्थी र होस्टेल वार्डेन गाउँतर्फ जानेक्रममा बाटोमाथिबाट खसेको पहिरोमा परी ६ जना किशोर पुरिएका थिए । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई भेट्न पीडित परिवारसहित सत्तापक्षका प्रमुख सचेतक महेशकुमार बर्तौला, बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेल, प्रदेशका पूर्व सामाजिक मन्त्री कुमारी मोक्तान, कांग्रेस मकवानपुरका सभापती बुद्ध लामा सहभागी हुनुहुन्थ्यो ।