खेलाडी विदाई कार्यक्रमपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडाः जापानको टोकियोस्थित योकोहा शहरमा भोलि बुधबारदेखि आगामी सोमबारसम्म आयोजना हुने तेस्रो थाउलो वल्र्डकप २०२४ मा सहभागी हुने नेपाली खेलाडी टोलीको बिदाई गरिएको छ । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले जितका लागि शुभकामना दिँदै उसु खेलाडीहरुलाई बिदाई गर्नुभएको हो ।

खेलाडी विदाई कार्यक्रममा मन्त्री महर्जनले बागमती प्रदेश यूवा तथा खेलकुद मन्त्रालय र खेलकुद विकास परिषद् उसु खेलको समग्र विकासका लागि साथ सहयोग गर्न सदैव तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो । मन्त्री महर्जनले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा खेलाडीलाई सहभागी गराएर खेलमार्फत् राष्ट्रको नाम विश्वसामु चिनाउन र पदकसमेत जित्न सफल बनाउन उसु महासंघको महत्वपूर्ण योगदान रहेको भन्दै महासंघलाई धन्यवाद दिनुभयो ।

वल्र्डकपमा खेलाडीहरु दीपक हमाल, विजय सिंजाली, निमा घर्ती मगर, पासाङ शेर्पा र राजिब तामाङ सहभागी हुनेछन् । नेपाली उसु टोलीको नेतृत्व महासंघका महासचिव ल्हाक्पा छिरिङ लामाले गर्नेछन् भने अन्तर्राष्ट्रिय प्रशिक्षक निकेश श्रेष्ठले टिम प्रशिक्षकको भूमिका निर्वाह गर्नुहुनेछ । वल्र्डकपमा सहभागी हुन जान लागेका खेलाडीहरु गत अप्रिल महिनामा चीनमा भएको अन्तर्राष्ट्रिय आमन्त्रित उसु प्रतियोगिताबाट छनौट भएका हुन् ।

काडमाडौँमा आयोजित बिदाई कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र कुमार सेरचन, राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्ट, उपनिर्देशक एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतले खेलाडिहरुलाई जितको शुभकामना दिनुभएको छ ।