हेटौंडाः नेपाल र ताजिकिस्तानबीच हुन लागेको मैत्रीपूर्ण फुटबल खेलका लागि मकवानपुरका ६ खेलाडी बन्द प्रशिक्षणमा समेटिएका छन् । आगामी नोभेम्बर महिनामा ताजिकिस्तान फिफा बिन्डोमा हुन लागेको मैत्रीपूर्ण फुटबल खेलका लागि मकवानपुरका ६ जना खेलाडीहरु बन्द प्रशिक्षणमा पर्न सफल भएका हुन् ।
सोमबार नेपाल पुरुष राष्ट्रिय टिमको अन्तरिम राष्ट्रिय प्रशिक्षकमा नियुक्त हुनुभएका नवीन न्यौपानेले ३६ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउँदा मकवानपुरका गोलरक्षक कृशल मोक्तान, डिफेन्डर छिरिङ लामा, विमल पाण्डे, एन्जल महर्जन, मिडफिल्डरमा आयुष घलान र फरवार्डमा अञ्जन विष्ट पर्न सफल भएको मकवानपुर जिल्ला फुटबल संघका महासचिव छवि सुवेदीले जानकारी दिनुभएको छ ।
बन्द प्रशिक्षणमा सहभागी भएका ३६ जना खेलाडीहरु मध्ये उत्कृष्ट २४ जनालाई छनौटगरी मैत्रीपूर्ण खेलमा सहभागी गराइने फुटबल संघका महासचिव छवि सुवेदीले बताउनुभयो । यसअघि युरोपका भिन्सेन्जो अल्बटोले नेपालको अन्तरिम राष्ट्रिय प्रशिक्षकको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । मकवानपुर जिल्लाका खेलाडीहरुले विभिन्न प्रकारका प्रतियोगितामा सहभागिता, खेल कौशल र क्षमताका आधारमा उनीहरुलाई छनोट गरेर बन्द प्रशिक्षणमा बोलाइएको उहाँले बताउनुभयो ।
हेटौँडा फुटबल एकेडेमीका खेलाडी कृशल मोक्तानले यु–२० फुटबल प्रतियोगिताको राष्ट्रिय टिममा समेत सहभागी भएका छन् । मोक्तानले यु–१७ को राष्ट्रियस्तरको प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गरेर आफूलाई उत्कृष्ट खेलाडी सावित गर्न सफल भएको हेटौँडा फुटबल एकेडेमीका संस्थापक तथा प्रशिक्षक भीम लामा बताउनुहुन्छ । ३ वर्षअघि श्रीलंकामा भएको यु–१७ पुरुष च्याम्पियनसीपमा मोक्तान सहभागी भएका थिए ।
मकवानपुरका ६ जना खेलाडीसहित किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, जियारथ शेख, डिफेन्डरमा अनन्त तामाङ, सेमन्त थापा, रोहित चन्द, निर्मल घिसिङ, सनिश श्रेष्ठ, विवेक चौधरी, रणदीप पौडेल, सवीन घिमिरे र अभिषेक वाईबा परेका छन् । मिडफिल्डरमा लकेन लिम्बु, रोहन कार्की, मणि लामा, उत्सव राई, भरत खवास, कुशल देउवा, एरिक विष्ट, आशिष राई, अभिनाश स्याङ्तान, मनिष डाँगी र उज्वल राई पर्न सफल भएका छन् भने फरवार्ड जिलेस्पी जंग कार्की, सुमित श्रेष्ठ, अञ्जन विष्ट, समिर तामाङ र निराजन धामी बन्द प्रशिक्षण परेका छन् ।