हेटौँडाः पश्चिमी मकवानपुरमा सक्रिय युवाहरुको संस्था चैनपुर जेसीज मनहरीको आयोजनामा हुने खुला फुटबल प्रतियोगिताको तयारी भइरहेको छ । जेसीजले यही कात्तिक २३ गतेबाट मनहरी–४, मसिनेस्थित गोलघर खेल मैदानमा दोस्रो संस्करणको चैनपुर जेसीज मनहरी कप खुला फुटबलको आयोजना गर्दैछ ।

प्रतियोगिताको तयारीलाई तीव्र पारिएको जेसीजका अध्यक्ष रविन ढकालले जानकारी दिनुभयो । मनहरी गाउँपालिका ४ नम्बर वडा कार्यालयको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताको विजेताले एक लाख एक हजार १११ रुपैयाँ र उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ तथा अन्य विधागत उत्कृष्टले जनही नगद ३ हजार ५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

“चैनपुर जेसीज मनहरीको स्थापना भएसँगै गत वर्षबाट जेसीज कप खुला फुटबल प्रतियोगिताको सुरुवात गरेको हो । फुटबल खेलको विकास एवम् युवाहरुको बीचमा भ्रातृत्वको सम्बन्ध स्थापनाका लागि प्रतियोगितालाई निरन्तरता दिँदै गएका छौं”, अध्यक्ष ढकालले भन्नुभयो, “प्रतियोगिताको तयारी तीव्र पारिएको छ । सहभागी हुन चाहने टिम तथा खेलाडीलाई तयारी अवस्थामा रहन अनुरोध गर्दछौं ।” प्रतियोगिताका लागि करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको महासचिव श्रीकृष्ण ढकालले बताउनुभयो । प्रतियोगिताका लागि अन्य विभिन्न व्यक्ति तथा संघसंस्थासँग सहयोगका लागि समन्वय भैरहेको उहाँले बताउनुभयो । प्रतियोगिताको संयोजक कार्यकारिणी उपाध्यक्ष महेश खुलाल रहेका छन् भने सहसंयोजकमा उपाध्यक्ष उज्वल विष्ट र खेलकुद संयोजक प्रदीप थापा रहेका छन् ।