मकवानपुर र ललितपुर जिल्लाका टिम क्याप्टेन, साथमा अम्पायर बिनोद कुमार बानियाँ ।

हेटौंडाः बागमती प्रदेशस्तरीय यु–१९ टिम छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको अन्तिम खेल वर्षाका कारण प्रभावित बनेको छ । हेटौंडा–४, हुप्रचौरमा मकवानपुर र ललितपुरबीचको खेलमा वर्षा बाधक बन्दा रद्द भएको हो । टस जितेर पहिलो व्याटिङ गरेको मकवानपुरले ३४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ४५ रन जोडेको थियो ।

मकवानपुरका शिवशक्ति महतोले सर्वाधिक ४३ रन बनाएका छन् । श्रीजन अधिकारीले २७ रन, राजा अहमदले १९ रन र टिम कप्तान गोकुल अधिकारी, आदित्य पौडेल र रोहित ठाकुरले समान ९/९ रन बनाएका थिए । बलिङतर्फ ललितपुरका राजेश बोहोरा र संगम सेढाइले समान ३/३ विकेट लिएका थिए । भारगव खनाल र अथर्व पौड्यालले समान २/२ विकेट लिएका थिए ।

मकवानपुरले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको ललितपुरले १७ ओभर खेल्दै गर्दा वर्षा बाधक बन्यो । ललितपुरले १७ ओभरमा ७ विकेट गुमाएर ६९ रन जोडेको थियो । वर्षाका कारण खेल प्रभावित बनेपछि अन्ततः खेल रद्द गर्नुपरेको हो । राजेश बोहोराले अवीजित रहँदै ३६ रन जोडेका थिए । संगम सेढाइले ९ रन जोडेका थिए । बलिङतर्फ मकवानपुरका रोहित ठाकुरले सर्वाधिक ४ विकेट लिएका थिए । यस्तै प्राञ्जल उपाध्यायले २ विकेट लिएका थिए भने राजा अहमदले १ विकेट मात्र लिएका थिए ।

मकवानपुरले कात्तिक ८ गते मुलपानी क्रिकेट मैदानमा काठमाडौं जिल्लाको टिमसँग प्रतिस्पर्धा गर्नेछ छ भने ९ गते भक्तपुरसँग प्रतिस्पर्धा गर्नेछ । मकवानपुर जिल्ला क्रिकेट संघका कोषाध्यक्ष धिरज श्रेष्ठको संयोजकत्वमा हेटौंडाको खेल सम्पन्न भएको छ । प्रतियोगितामा मकवानपुरसहित काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट र चितवन गरी ६ जिल्लाको सहभागिता रहेको छ । प्रदेश टिम तयार भएपछि कात्तिक १० गतेदेखि विराटनगरमा हुने वाईवाई यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाइनेछ ।