हेटौँडाः महाकवि लक्ष्मी प्रसाद देवकोटको जन्मजयन्तीको अवसरमा कात्तिक १५ गते जिल्लास्तरिय कविता प्रतियोगिता हुने भएको छ । आइतबार साहित्य संगम मकवानपुरले कविता प्रतियोगिता बारे एक सूचना जारी गरेको छ ।

संगमको आयोजना तथा युग प्रकाश क्लव हेटौँडा र त्रिभुवन नमुना माविको व्यवस्थापन एवम् हेटौँडा उपमहानगरपालिका–११ को प्रवर्धनमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा जुनसुकै विषयमा १५० भन्दा बढी शब्दको कविता हुनुपर्ने उल्लेख गरिएको छ । प्रतियोगितामा सहभागिता जनाउनका लागि कात्तिक ११ गते भित्र आफुले लेखेका रचना साहित्य संगम मकवानपुरको इमेलमा पठाउनु पर्नेछ ।

इमेल मार्फत प्राप्त भएका रचनालाई छनोट गरी १० जनाको कविता प्रस्तुत गरिने छ । प्रतियोगितामा उत्कृष्ट हुनेलाई ३ हजारका दरले र प्रोत्साहन स्वरुप एक जनालाई एक हजार रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिता त्रिभुवन माविमा हुनेछ । हेटौँडा–११ स्थित त्रिभुवन माविमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको प्रतिमा स्थापित छ ।