अभियुक्तहरुलाई थुनामै राखेर अनुसन्धान गर्न जिल्ला अदालतले आदेश दिएपछि हेटौंडाको बुद्धचोकमा भेला भएका महिलाहरु ।

हेटौंडाः हेटौंडा–४, गर्दोईकी सुस्मिता केसी हत्याकाण्डका अभियुक्तहरु चारैजनालाई मकवानपुर जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । बुधबार जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेश लगत्तै चारजना अभियुक्त मध्ये सुस्मिताका ससुरा प्रकाश थापालाई भीमफेदी कारागार र सुस्मिताकी सासु तुलसा थापा, नन्दहरु दुर्गा थापा कार्की र सीता थापालाई कारागार कार्यालय चितवन चलान गरिएको छ । सुस्मिताकी जेठी नन्दका श्रीमान् अरुण कार्की विरुद्ध पनि मुद्दा दर्ता भएको र अरुण कार्की फरार रहेकोले जिल्ला अदालतले अरुण कार्कीलाई अदालतमा हाजिर हुन ७० दिने म्याद दिएको छ । थुनछेक बहस सकिएर अदालतले पुर्पक्षमा राख्न आदेश दिए सँगै सुस्मिता हत्याकाण्डको न्याय सम्पादन प्रक्रिया अब केही समय स्थीर रहनेछ । अर्का अभियुक्त अरुण कार्की अदालतमा हाजिर नभए कम्तिमा पनि एक सय दिन मुद्दाको प्रक्रिया अगाडि नबढ्ने अधिवक्ता मदन कुमार दाहाल बताउनुहुन्छ । सुस्मिताको पक्षमा वकालत समेत गरिरहुनभएका अधिवक्ता दाहालका अनुसार सुस्मिता हत्याकाण्डका योजनाकारको रुपमा दावी गर्दै अरुण कार्कीमाथि पनि मुद्दा दायर भएको छ । अरुण आफैं आएर अदालतमा वयान दिए छिट्टै मुद्दाको प्रक्रिया अगाडि बढ्नेछ ।

अभियुक्तहरुलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएसँगै जिल्ला अदालत आसपास भेला भएका सुस्मिताकी आमासहितका महिलाहरुको एक समूहले हेटौंडाको बुद्धचोकसम्म ¥याली निकालेका थिए । बुद्धचोकमा उभिएर सुस्मिताकी आमाले नागरिक समाज, टोल विकास संस्था तथा विभिन्न अधिकारकर्मीहरुको सहयोग प्रति धन्यावाद व्यक्त गर्नुभएको थियो । उहाँले थुनछेक बहसपछिको आदेश न्यायको पक्षमा भएको भन्दै आमाको वेदना आमाले नै बुझ्ने बताउनुभयो । उहाँले अब सुस्मिताको न्यायको फैसला हुन दुईचार महिना लागेपनि अदालतको फैसला कुर्ने बताउनुभयो । असार १ गते राती परिवारकै सदस्यबाट सुस्मिताको हत्या भएको थियो । प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा सुस्मिताका ससुरा, सासु र दुई नन्दलाई असार १५ गते सार्वजनिक गरेको थियो ।