सांकेतिक तस्वीर ।

हेटौंडाः चितवनमा विभिन्न घटनामा परी तीन जनाको मृत्यु भएको छ । आइतबार जिल्लाभित्रका फरकफरक स्थानमा तीन जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

आइतबार साँझ रत्ननगर नगरपालिका–३ स्थित शान्तिचोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको ना ४६ प ८२४८ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको ना ५६ प ९१६९ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुटर चालकको मृत्यु भएको हो । दुर्घटना हुँदा स्कुटर चालक खैरहनी नगरपालिका–१ का २१ वर्षीय दिपेश चौधरीको शरिरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका थिए । घाइते चौधरीलाई मनकामना हस्पिटल भरतपुरमा उपचारका लागि लगिएकोमा साँझ सवा ७ बजे डाक्टरले मृत घोषणा गरेको हो ।

यस्तै आइतबार बिहान कालिका नगरपालिका–३ स्थित मिलन चोकमा अत्याधिक मदिरा सेवन गर्ने एक महिलाको मृत्यु भएको छ । अध्याधिक मदिरा सेवन गरी लडिरहेको अवस्थामा फेला परेकी ३० वर्षीय दिलमाया मोक्तानलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएको डाक्टरले मृत घोषणा गरेको हो । आइतबार भरतपुर महानगरपालिका–६ स्थित पारसनगरमा उपचारको क्रममा एक पुरुषको मृत्यु भएको छ । ससुरालीको घरमा आइपुगेका नवलपुरको देवचुली नगरपालिका–१० का ४७ वर्षीय शालिकराम घिमिरे नाचगान गर्ने क्रममा एक्कासी ढलेका थिए । उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पतालमा लगिएकोमा डाक्टरले मृत घोषणा गरेको हो ।