Home मुख्य समाचार थोक तरकारी बजारमा बस टर्मिनलसहितको सपिङ कम्प्लेक्स

थोक तरकारी बजारमा बस टर्मिनलसहितको सपिङ कम्प्लेक्स

हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१० स्थित थोक तरकारी बजारलाई हटाएर त्यहाँ बस टर्मिनलसहितको सपिङ कम्प्लेक्स निर्माण गर्ने भएको छ । उपमहानगरपालिकाले बस टर्मिनलसहितको सपिङ कम्प्लेक्स निर्माणका लागि ठेक्काको प्रक्रिया अगाडि बढाएको छ । अहिले उपमहानगरपालिकाले ठेक्काको प्रक्रियामा ठेक्का प्रस्ताव गर्ने निर्माण कम्पनी छनोटको काम गरिरहेको छ । अबको एक महिनाभित्र उपमहानगरपालिकाले निर्माण कम्पनी छनोट गरेर निर्माण कार्यको सम्झौता गर्ने जनाएको छ ।
हेटौंडा उपमहानगरपालिकाले ६३ करोड ५७ लाख रुपैयाँ लागत अनुमान गरी ठेक्का प्रस्ताव पेश गर्न सूचना प्रकाशित गरेको छ । ९ वटा कम्पनीले ठेक्का प्रस्ताव पेश गरेका छन् ।

हेटौंडा उपमहानगरपालिकाका इन्जिनियर रञ्जन कोइरालाका अनुसार ठेक्का प्रस्ताव पेश गर्ने कम्पनीको प्राविधिक मूल्यांकनको काम भइरहेको छ । प्राविधिक मूल्यांकनको कार्यपछि आर्थिक मूल्यांकन गरेर निर्माण कम्पनी छनोट गरिने कोइरालाले बताउनुभयो । तीन वर्षको अवधिमा निर्माण पूरा गर्ने गरी बहुवर्षीय योजनाको रुपमा बस टर्मिनलसहितको सपिङ कम्प्लेक्स निर्माण गरिने बताइएको छ ।

हेटौंडा उपमहानगरपालिकाले निर्माण गर्न लागेको बस टर्मिनलसहितको सपिङ कम्प्लेक्समा दुईतल्ले अण्डरग्राउण्ड पार्किङ हुनेछ । दुईहजार वर्गमिटर क्षेत्रफलमा सपिङ कम्प्लेक्स बन्नेछ । सपिङ कम्प्लेक्स ४ तल्लाको हुनेछ । बस टर्मिनलसहितको सपिङ कम्प्लेक्स निर्माण गर्ने क्रममा थोक तरकारी बजारका व्यवसायीलाई बजार खाली गर्न १५ दिने सूचना जारी गरेको छ । व्यवसायीसँग आवश्यकताअनुसार बजारक्षेत्र खाली गर्ने सहमति भएको उपमहानगरपालिकाको भनाइ छ ।