हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१० स्थित थोक तरकारी बजारलाई हटाएर त्यहाँ बस टर्मिनलसहितको सपिङ कम्प्लेक्स निर्माण गर्ने भएको छ । उपमहानगरपालिकाले बस टर्मिनलसहितको सपिङ कम्प्लेक्स निर्माणका लागि ठेक्काको प्रक्रिया अगाडि बढाएको छ । अहिले उपमहानगरपालिकाले ठेक्काको प्रक्रियामा ठेक्का प्रस्ताव गर्ने निर्माण कम्पनी छनोटको काम गरिरहेको छ । अबको एक महिनाभित्र उपमहानगरपालिकाले निर्माण कम्पनी छनोट गरेर निर्माण कार्यको सम्झौता गर्ने जनाएको छ ।
हेटौंडा उपमहानगरपालिकाले ६३ करोड ५७ लाख रुपैयाँ लागत अनुमान गरी ठेक्का प्रस्ताव पेश गर्न सूचना प्रकाशित गरेको छ । ९ वटा कम्पनीले ठेक्का प्रस्ताव पेश गरेका छन् ।
हेटौंडा उपमहानगरपालिकाका इन्जिनियर रञ्जन कोइरालाका अनुसार ठेक्का प्रस्ताव पेश गर्ने कम्पनीको प्राविधिक मूल्यांकनको काम भइरहेको छ । प्राविधिक मूल्यांकनको कार्यपछि आर्थिक मूल्यांकन गरेर निर्माण कम्पनी छनोट गरिने कोइरालाले बताउनुभयो । तीन वर्षको अवधिमा निर्माण पूरा गर्ने गरी बहुवर्षीय योजनाको रुपमा बस टर्मिनलसहितको सपिङ कम्प्लेक्स निर्माण गरिने बताइएको छ ।
हेटौंडा उपमहानगरपालिकाले निर्माण गर्न लागेको बस टर्मिनलसहितको सपिङ कम्प्लेक्समा दुईतल्ले अण्डरग्राउण्ड पार्किङ हुनेछ । दुईहजार वर्गमिटर क्षेत्रफलमा सपिङ कम्प्लेक्स बन्नेछ । सपिङ कम्प्लेक्स ४ तल्लाको हुनेछ । बस टर्मिनलसहितको सपिङ कम्प्लेक्स निर्माण गर्ने क्रममा थोक तरकारी बजारका व्यवसायीलाई बजार खाली गर्न १५ दिने सूचना जारी गरेको छ । व्यवसायीसँग आवश्यकताअनुसार बजारक्षेत्र खाली गर्ने सहमति भएको उपमहानगरपालिकाको भनाइ छ ।