हेटौँडाः मकवानपुरको भीमफेदी गाउँपालिका–१, सुन्दरीमाईमा बसमा सवार एक यात्रुको सडकभन्दा माथिबाट खसेको ढुंगाले लागेर घाइते भई उपचारको क्रममा मृत्यु भएको छ ।
हेटौँडाबाट भीमफेदीको ईचुङतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख ३३१० नम्बरको यात्रुबसमा बुधबार साँझ ५ बजेको समयमा ढुंगा खसेको थियो । सडकभन्दा माथिबाट ढुंगा खस्दा बसमा सवार मकवानपुरगढी गाउँपालिका–८ की १२ वर्षीया रिंकु थिङ घाइते भएकी थिइन् । सिसाले थिङको दाहिने हात र पेटमा चोट लागेको थियो ।
हेटौँडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवन जिल्लाको भरतपुर महानगरपालिकास्थित पुरानो मेडिकल कलेज रेफर गरिएको थियो । उपचारको क्रममा बिहिबार बिहान ३ बजेर १० मिनेटको समयमा थिङको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
