
हेटौँंडा : मकवानपुरको भीमफेदी गाउँपालिकाले १ सय १६ जना अनौपचारिक क्षेत्रका श्रमिक तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गर्दै गाँउपालिकाले ४७ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र ७९ जना अनौपचारिक क्षेत्रका श्रमिक गरी १ सय १६ जनालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र बागमती प्रदेशका श्रम रोजगार यातायात मन्त्री जयराम थापाले कोषमा आबद्धता भएका मजदुरहरुलाई परिचयपत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले सामाजिक सुरक्षा कोषले श्रमिकको जीवन सुरक्षित गर्ने र सुरक्षित जीवनमा सुख र खुशी आफैँ आउने बताउनुभएको छ । नागरिकको जीवन सुरक्षित पार्नु राज्यको दायित्व भएको बताउँदै मुख्यमन्त्री बानियाँले भीमफेदी गाउँपालिकाका श्रमिकको अधिकारलाई संरक्षण गर्ने दायित्वमा सफल हुँदै स्थानीय तहहरुमा नमुना काम गर्न सकेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले अबको बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्रदेशका १ सय १९ वटै पालिकाहरुमा अनौपचारिक तथा औपचारिक क्षेत्रका श्रमिक तथा कामदारहरुलाई सामाजिक सुरक्षा कोषमा लैजान प्रदेश सरकारले ५० प्रतिशत खर्च व्यहोर्ने गरी व्यवस्था गरिने स्पष्ट पार्नुभयो ।
गाउँपालिकाले हालसम्म ३ सय ११ जना अनौपचारिक क्षेत्रका मजदुरहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा सामाजिक सुरक्षा कार्यक्रमका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई कोषमा आवद्ध गराउन गाउँपालिकाले न्यूनतम पारिश्रमिकको ११ प्रतिशत र गाउँपालिकाको तर्फबाट ९.३५ प्रतिशत थप गरी कुल २०.३५ प्रतिशत अर्थात मासिक २ हजार ४ सय ७९ रुपैयाँ कोषमा जम्मा गर्ने व्यवस्था मिलाएको भिमफेदी गाँउपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिनुभएको छ । सामाजिक सुरक्षा योजना अन्तर्गत श्रमिकहरूले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा तथा वृद्धावस्था सुरक्षा जस्ता सेवा सुविधा प्राप्त गर्नेछन् ।
भीमफेदी गाउँपालिकाले सामाजिक सुरक्षा कोषसँग २०८० साउन ३० गते सम्झौता गर्दै कार्यक्रम अघि बढाएको थियो । गाउँपालिका अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराउने नेपालकै पहिलो गाउँपालिका तथा बागमती प्रदेशकै अग्रणी स्थानीय तहका रूपमा स्थापित भएको छ । गाउँपालिका अध्यक्ष हिदम लामाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको पनि आतिथ्य रहेको थियो ।