हेटौंडा उपमहानगरपालिका ।

हेटौँडाः चालु आर्थिक वर्षको बजेट पारित गर्ने क्रममा अस्वभाविकरुपमा अवैधानिक तरिकाबाट राजश्वको दर हेरफेर गरेको विरोधपछि आव्हान गरिएको हेटौँडा उपमहानगरपालिकाको विशेष नगरसभाको मिति फेरि सारिएको छ । असोज २० गते बसेको कार्यपालिका बैठकले २२ गतेका लागि तय गरिएको नगरसभा असोज ३० गतेका लागि सार्ने निर्णय गरेको नगर कार्यपालिका सदस्यले जानकारी दिए ।

यसअघि गत भदौ २८ गते बसेको विशेष नगरसभाले दोस्रो विशेष नगरसभा असोज १५ गतेका लागि तय गरेको थियो । असोज १३ गते आइतबार बसेको नगर कार्यपालिका बैठकले विशेष नगरसभाको मिति असोज २२ गतेका लागि सार्ने निर्णय गरेको थियो । नगर सभा लगातार दोस्रो पटक सारिएको छ । नगरप्रमुख मीना कुमारी लामाको अध्यक्षतामा असोज १३ गते आइतबार बसेको बैठकले राजश्वको दर परिवर्तन गर्ने विषयमा अध्ययन गर्न उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा कार्यदल समेत गठन गरेको छ । कार्यदलमा वडा अध्यक्षहरु सविन न्यौपाने, विष्णुगोपाल महर्जन, नवीन सिग्देल र फूर्वा दोर्जे लामा सदस्य हुनुहुन्छ । यस्तै व्यवसायीको तर्फबाट मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवाल, उपाध्यक्ष उज्ज्वल चौलागाई रहनुभएको उपप्रमुख राजेश बानियाँले जानकारी दिनुभएको छ । यस्तै कार्यदलमा हेटौँडा उपमहानगरपालिकाको राजश्व, कानुन र प्रशासन शाखाका प्रमुखहरु पनि सदस्य छन् ।

गत असार ७ गते सम्पन्न नगर सभाले चालु आर्थिक वर्षका लागि तय गरिएको राजश्वको दर अस्वभाविक र चर्को दरमा वृद्धि गरिएको भन्दै नगरवासी र व्यवसायीले विरोध जनाएका थिए । व्यवसायी आन्दोलनमै उत्रिएपछि उपमहानगरपालिकाले राजश्वको दर साविककै कायम गर्ने सहमति समेत गरिसकेको छ । राजश्वको दर परिवर्तन गर्ने सम्बन्धमा अध्ययन गर्न उपप्रमुख बानियाँको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष, व्यवसायी प्रतिनिधिको सहभागितामा संघीय सरकारका पूर्वअर्थमन्त्री एवम् अर्थविद् डा. युवराज खतिवडा, पूर्व अर्थसचिव राजन खनाल र हालका अर्थसचिव डा. रामप्रसाद घिमिरेसँग समेत परामर्श गरेको छ ।