कुलेखानी–फाखेल सडकखण्डमा खोलाले बगाएको सडक बनाउँदै । फाइल तस्वीर ।

हेटौँडाः मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ स्थित कुलखानी ड्यामभन्दा तल्लो भागमा रहेको सिमखोलामा बनाएको डाइभर्सन भास्सिँदा सवारी आवगमनमा समस्या भएको छ । सिमखोलामा बनाइएको डाइभर्सन भास्सिँदा कुलेखानी–फाखेल–महालक्ष्मी र कुलेखानी–सिस्नेरी–दक्षिणकाली दुबैतर्फका सवारी आवागमन अवरुद्ध भएको छ । यसअघि आइतबार दिउँसोबाट उक्त सडकखण्डहरु सञ्चालनमा ल्याइएको थियो ।

पाँच दिन लगाएर कुलेखानीस्थित सिमखोल, महालक्ष्मी खोला र सिस्नेरी खोलाले बगाएको बाटोको विकल्पमा डाइभर्सन बनाएर यातायात सुचारु गरिएको थियो । डाइभर्सनमा फिलिङ गरिएको माटो भास्सिएको र नयाँ माटो फिलिङ्ग गरिँदै गरिएकोले दिउँसो १ बजेसम्ममा सवारी आवागमन सुचारु हुने डाइभर्सन निर्माण स्थलमा रहेका एक प्राविधिकले जानकारी दिएका छन् ।

सवारी आवागमन रोकिएपछि सिमखोला वारी र पारी दुबैतर्फ सयौंको संख्यामा सवारी साधन रोकिएका छन् । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मकवानपुर, स्थानीय तह, नेपाली सेना र प्रहरीको सक्रियतामा सिमखोला, महालक्ष्मी र सिस्नेरीमा डाइभर्सन निर्माण गरी आइतबार अपरान्हबाट सवारी आवागमन खुलाइएको थियो ।