हेटौंडाः तेस्रो संस्करणको ६ ‘ए’ साइड वस्तुगत फुटसल प्रतियोगिताको उपाधि मकवानपुरगढी जेसीआईले जितेको छ । मकवानपुर अधिकृत बिक्रेता संघको आयोजना तथा मकवानपुर उद्योग वाणिज्य संघको प्रायोजनमा शनिबार मक्राञ्चुलीस्थित फुटसल कोर्टमा भएको तेस्रो संस्करणको वस्तुगत फुटसल प्रतियोगिताको फाइनल खेलमा मकवानपुर कुखुरा व्यवसायी संघलाई ५–३ गोलले हराउँदै मकवानपुरगढी जेसीआईले उपाधि जितेको हो ।

उपाधि जितेसँगै मकवानपुरगढी जेसीआईले ५१ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता मकवानपुर कुखुरा व्यवसायी संघको टिमले २५ हजार ५ सय रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालको प्रमुख आतिथ्य तथा अधिकृत बिक्रेता संघका अध्यक्ष अमितकुमार श्रेष्ठको सभाध्यक्षतामा पुरस्कार वितरण कार्यक्रम भएको हो ।

पुरस्कार वितरण कार्यक्रममा संघका पूवअध्यक्ष चक्रधर बिडारी, कपडा तथा पोशाक व्यवसायी संघका निवर्तमान अध्यक्ष तथा मकवानपुर उद्योग वाणिज्य संघका वस्तुगत सदस्य तेजराज अधिकारीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रमोदसिंह रानाभाटको विशिष्ट आतिथ्य रहेको थियो ।

व्यवसायीबीच दशैं, तिहार, छठपर्व र नेपाल सम्बत्को शुभकामना आदानप्रदान गर्ने मुख्य उद्देश्यले ३ वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको छ । गत वर्षको प्रतियोगिताको उपाधि मोेबाइल एसोसिएसन अफ मकवानपुरले जितेको थियो भने कम्प्युटर एसोसिएसन अफ मकवानपुर उपविजेता बनेको थियो ।

प्रतियोगितामा आयोजकसहित ६ टिमको सहभागिता रहेको थियो । शनिबार नै भएको सेमिफाइनल खेलमा मकवानपुर मदिरा व्यवसायी संघलाई ३–२ गोलले हराउँदै कुखुरा व्यवसायी फाइनलमा पुगेको थियो भने मकवानपुर मुद्रण व्यवसायी संघलाई हराउँदै मकवानपुरगढी जेसीआई फाइनलमा पुगेको थियो ।