हेटौँडाः हेटौँडा–९ स्थित नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सरकारी सिमेन्टको बिक्री बढाउने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षमा सहकारीले सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको सिमेन्ट १५ हजार बोरा बिक्री गर्ने लक्ष्य लिएको छ । सहकारीले गत आर्थिक वर्षमा आठ हजार ८० बोरा हेटौँडा सिमेन्ट बिक्री गरेको थियो । शनिबार सम्पन्न सहकारीको २८ औं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्ष नारायणीले हेटौँडा सिमेन्ट १२ हजार पाँच सय बोरा बेच्ने लक्ष्य लिएको थियो ।
नारायणीले निजी स्वामित्वका उद्योगको सिमेन्ट बिक्रीको लक्ष्य भने घटाएको छ । गत वर्ष शिवम् सिमेन्ट ७० हजार बोरा बिक्री गर्ने लक्ष्य लिएको नारायणीले चालु आर्थिक वर्षमा ५० हजार बोरा बिक्री गर्ने लक्ष्य लिएको छ । यस्तै गत वर्ष ३० हजार बोरा सर्वोत्तम सिमेन्ट बिक्री गर्ने लक्ष्य लिएको सहकारीले चालु आर्थिक वर्षमा १५ हजार बोरा मात्रै बिक्री गर्ने लक्ष्य लिएको छ । दुई हजार दुई सय ६३ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी छ करोड ११ लाख रुपैयाँ रहेको छ । सहकारीले २८ करोड ७३ लाख रुपैयाँ बचत संकलन गर्दा २४ करोड २० लाख रुपैयाँ ऋण लगानी गरेको छ ।
सहकारीका अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षता तथा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो । साधारणसभामा राष्ट्रिय सहकारी बोर्डका सञ्चालक सदस्य बद्रिप्रसाद लम्साल, सहकारीका निवर्तमान अध्यक्ष रामहरि न्यौपानेको पनि आतिथ्य रहेको थियो ।