बाढीले क्षति पुर्याएको ईन्द्रसरोवर गाउँपालिकाको सिस्नेरी बजार । सिस्नेरी बजार क्षेत्रका होटल, आवासक्षेत्र पूर्णरुपमा बगाएको छ ।

हेटौँडाः मकवानपुर जिल्लाको ईन्द्रसरोवर र बकैया गाउँपालिका संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । असोज १० गतेदेखि १२ गतेसम्मको भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण क्षति पुगेका ४२ वटा पालिकालाई संघीय सरकारले शुक्रबार संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । राहत र पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारले तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

बाढी पहिरोका कारण मकवानपुर जिल्लामा ७ जनाको ज्यान गएको थियो भने ५० भन्दा बढी घर पूर्णरुपमा क्षति भएको थियो । ईन्द्रसरोवर गाउँपालिकामा एन्फा एकेडेमीमा सहभागी ६ जना किशोर खेलाडीको पहिरोमा परी मृत्यु भएको थियो । बाढी पहिरोका कारण मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका र बकैया गाउँपालिकाको सडक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । ईन्द्रसरोवर गाउँपालिका र बकैया गाउँपालिकाको सडक पूर्वाधारमा क्षति पुगेकै कारण छोटो मार्ग हुँदै हेटौँडा–काठमाडौं आउजाउ पूर्णरुपमा बन्द भएको छ ।