हेटौँडाः हेटौँडाबाट ११ करोड बढीको सुनसहित २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ रातोमाटेस्थित प्रहरी चौकीबाट ८ किलो ४३.९७ ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार सो सुनको बजार मुल्य ११ करोड ४३ लाख ५७ हजार रुपैयाँ हुन्छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले पक्राउ पर्नेमा भारत महाराष्ट्रका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेका छन् । प्रहरी उपरीक्षक खड्काका अनुसार शनिबार बिहान ३ बजेको समयमा विशेष सुचनाको आधारमा प्रहरी टोलीले रातोमाटे चेकपोष्टमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी सुरक्षाजाँच गर्ने क्रममा सुन बरामद भएको हो ।
बाड र कुटीले शरीरको विभिन्न भागमा लुकाएर सुन ल्याएको भेटिएको प्रहरी प्रमुख खड्काले जानकारी दिनुभयो । बिस्कुटको आकारको ८ थान सुन फेला पारेको छ । प्रहरी प्रमुख खड्काका अनुसार उनीहरूले जनकपुरबाट सुन लिएर पथलैयासम्म बस आएका थिए । पथलैयाबाट भने उनीहरु स्कुटरमा हेटौंडा तर्फ आउँदै थिए । उनीहरुले काठमाडौंको गौशालामा सुन बुझाउने गरी जाँदै गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी प्रमुख खड्काको भनाई छ । बरामद भएको सुन र पक्राउ परेका कुटी र बाडलाई थप अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।